पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् ।

धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटक विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए ।

“नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बन्ने क्रममा छन्” उनले भने, “हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकास प्राथमिकतामा राखेका छौँ ।” अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत हुने गरी सात करोडको प्रोजेक्ट सञ्चालन भइरहेको छ ।

भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्रे र बिजुली बत्ती पुगाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका इन्जिनियर शतिस शामीले रु सात करोड बजेटमा यहाँ पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताए ।
“दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्र्डससँग ठेक्का सम्झौता भइसकेको छ ” उनले भने, “यहाँ आवश्यक सबै संरचना निर्माण गरिने छन् ।” यस ठाउँको विकास बेदकोट नगरपालिकाले यहाँ सेल्फी प्वाइन्टको निर्माण गरेको छ । शिव लिङ्गको ठीक अगाडि पर्यटकका लागि फोटो खिच्नका लागि सहज होस् भनेर सेल्फी प्वाइन्टको निर्माण गरेको हो । सेल्फी प्वाइन्टबाट सेल्फी खिच्दा पछाडि शिव लिङ्गको तस्बीर देखिन्छ । नगरपालिकाले २०७४ सालमा २५ लाखमा यो सेल्फी प्वाइन्ट निर्माण गरेको हो ।

यहाँ अवलोकनका लागि भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट आउने गरेका छन त्यसैगरी नेपालको पूर्वी झापासम्मको मानिस घुम्नको लागि यहाँ पुग्ने गरेका छन् । हालसम्म नेपाल भारतका मात्र नभई तेस्रो मुलुकका नागरिकसमेत पुग्ने गरेको स्थानीय नरेश जोशीले बताए । “यहाँ म्युजिक भिडियो, टिकटक बनाउन र फोटो खिच्नको लागि टाढा टाढाबाट पुग्ने गरेका छन्” उनले भने, “पछिल्लो समय महेन्द्रनगर पुगेका विदेशी पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।” उहाँले यहाँको सुन्दरताले आगन्तुकलाई लोभ्याउने गरेको बताए ।
लिङ्गेश्वरधाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । चुरे पहाडको फेदमा रहेको यो ठाउँ सुन्दर र शान्त छ । गर्मीको बेला गर्मी छल्न यहाँ आउनेको भीड हुन्छ ।


क्लिकमान्डु