सेन्चुरी ब्रान्डको मसला बेच्ने पूर्वराज्यमन्त्रीका दुगडको कम्पनीले एकै वर्ष गर्यो सँवा २ अर्बको व्यापार
काठमाडौं । नेपाली बजारमा सेन्चुरी ब्रान्डको विभिन्न प्रकारका मसला बिक्री वितरण गर्ने दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रालिले एकै वर्ष सँवा २ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२१ मा १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको उक्त वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ । मोतिलाल दुगड अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ५० करोड ५८ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि ४९ करोड ४१ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।
कम्पनीले सन् २०२२ मा ६ करोड रुपैयाँ लाभांस वितरण गरेको छ । कम्पनीअनुसार सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ५ करोड रुपैयाँ लाभांस वितरण गरेको थियो ।
कम्पनीले सन् २०२२ मा ३.२५ प्रतिशत नाफा कमाएको छ । त्यस्तै, कम्पनीअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।
कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ । कम्पनीले सन् २०२२ मा आम्दानी गरेकामध्ये ७८ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख छ ।
त्यसैगरी, कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोको १.२२ प्रतिशत विदेशमा निर्यात भएको वस्तुको हिस्सा छ ।