मूल्य घटाएर घरजग्गा बिक्री गर्दै व्यवसायी, अपार्टमेन्टको मूल्य २५ लाख रुपैयाँसम्म घट्यो



काठमाडौं । आर्थिक मन्दीले घरजग्गा बिक्री नहुँदा घरजग्गा व्यवसायीहरु मारमा परेका छन् । बजारमा मन्दी छाउँदा घरजग्गा बिक्री नभएपछि व्यवसायीले घरजग्गाको मूल्य घटाएर ग्राहकहरुलाई आकर्षित गरिरहेका हुन् ।

तरलता अभावसँगै बैंकको उच्च ब्याजदरका कारण घरजग्गा कारोबार प्रभावित भएको छ । जसका कारण ऋण लिई लगानी गरेकाहरु समस्यामा परेको व्यवसायीहरु बताउँछन् । घरजग्गा कारोबार कमी भइरहँदा व्यवसायीहरुले ग्राहक आकर्षिक गर्न मूल्य घटाउन थालेका छन् ।

व्यवसायीहरुले विभिन्न अफरसँगै अपार्टमेन्टको मूल्य २५ लाख रुपैयाँसम्म घटाएर बिक्र गर्न थालेका छन् । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टले प्रतियुनिट अपार्टमेन्टको मूल्य २३ लाख रुपैयाँसम्म घटाएको छ । कम्पनीले सुरुमा थ्रीबीएचके अपार्टमेन्टको मूल्य १ करोड ८० लाख रुपैयाँ तोकेको थियो । तर अहिले २३ लाख रुपैयाँ मूल्य घटाएर १ करोड ५७ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

अपार्टमेन्ट लामो समयसम्म बिक्री नभएपछि ग्राहकलाई आकर्षण गर्न नगद छुट दिएको कम्पनीको भनाइ छ । त्यस्तै सुरुमा २ बीएचके अपार्टमेन्टको मूल्य १ करोड २७ लाख रुपैयाँ तोकिएकोमा अहिले घटाएर १ करोड ११ लाख रुपैयाँ राखिएको छ ।

यसअघि १ बीएचके अपार्टमेन्टको मूल्य ७६ लाख रुपैयाँ राखिएकोमा अहिले घटाएर ६६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले यसअघि ग्राहकलाई आकर्षण गर्न अपार्टमेन्ट खरिद गर्दा हुन्डाईको ३० लाख र ४० लाख पर्ने गाडीको फ्रिमा दिने अफर ल्याएको थियो । ९२० स्क्वारयरफिटको थ्रीबएचके अपार्टमेन्ट खरिदमा ३० लाख मूल्य पर्ने हुन्डाईको आइटेन निओस गाडी वितरण फ्रिमा दिने जनाएको छ । उक्त अपार्टमेन्टको मूल्य १ करोड ९३ लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, कम्पनीले ११६० स्क्वायरफिटको थ्रीबीएचके अपार्टमेन्ट खरिदमा हुन्डाई आइट्वान्टी गाडी फ्रिमा दिने योजना सार्वजनिक गरेको छ । बजारमा उक्त गाडीको मूल्य अहिले ४० लाख पर्ने कम्पनीको भनाइ छ । कम्पनीले उक्त अपार्टमेन्टको मूल्य २ करोड ४३ लाख रुपैयाँ तोकेको छ ।

त्यस्तै, काठमाडौंको बूढानीलकण्ठमा नेक्स्ट प्रोपर्टीज प्रालिले निर्माण गरिरहेको मधुवन होम्सले पनि मूल्य घटाएर बिक्रीमा राखेको छ । कम्पनीले बूढानीलकण्ठ ४ देखि ५.५ आनामा अल्ट्रा–मोडर्न लग्जरिज घरहरु निर्माण गरिरहेको छ । सुरुमा कम्पनीले निर्माण गरिरहेको घरको सुरुवाती मूल्य ४ करोड १५ लाख रुपैयाँदेखि माथि तोकेको थियो ।

तर, आर्थिक मन्दीका कारण घर खरिद नभएपछि कम्पनीले घरको मूल्य घटाएको छ । सुरुवाती मूल्य ४ करोड १५ लाख रुपैयाँ तोकेको कम्पनीले अहिले सोही घरको मूल्य ३ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले उक्त क्षेत्रमा ५ वटा लक्जरियस घरहरु निर्माण गरिरहेको छ ।

घरजग्गा बिक्री नभएपछि कतिपय कम्पनीले नगद छुटसहित कार निःशुल्क अफर सार्वजनिक गरेका थिए । जसमा रोयल अर्चिड डेभलपर प्रालिले हात्तिवनमा निर्माण गरेको अपार्टमेन्ट युनिट खरिद गर्दा हुन्डाई आइटेन नियोस निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले १०३० स्क्वारफिटमा बनेको थ्रीबीएचके अपार्टमेन्ट युनिट खरिद गर्दा ३० लाख पर्ने गाडी निःशुल्क दिने भएको हो । कम्पनीले उक्त अपार्टमेन्टको मूल्य १ करोड ५७ लाख रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु