डिजिटल बैंकिङ सिटिजन्स बैंंकको उच्च प्राथमिकतामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १ वर्षअघि काठमाडौंको दरबारमार्ग शाखाबाट सुरु गरेको किओस्क सेवा काठमाडौं उपत्यकालगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ । १६ वर्षदेखि उत्तरदायी बैँकिङ अभ्यास गर्दै आएको बैंकले ग्राहकको वित्तीय आवश्यकता डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ सेवा विस्तार गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले शनिबार काठमाडौंको कलंकी र नयाँबजार शाखा, कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटल लाइन शाखामा एकसाथ किओस्क सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । बैंकले शनिबार नै कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, बाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा एटीएम सेवासमेत विस्तार गरेको छ ।
बैंकले डिजिटल सेवालाई आवश्यकताअनुसार बैंकका अन्य शाखामा विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृतले पोखरेलले बताए । किओस्क सेवामार्फत् ग्राहकले बैंक खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने जस्ता सुविधा बैँकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्न सक्नेछन् ।
नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकिङ सेवामा लाग्ने समय कम गराउँदै वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ किओस्क विस्तार गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले देशभरका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३८ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाईबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।