राजस्व वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा बजेट तर्जुमा गर्नुहोस्: मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यीकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घााटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले पहुँचका आधारमा विकासको बजेटलाईसडक, पुल र भवनजस्ता अनुत्पादक क्षेत्रमा जथाभावीरुपमा खर्च गर्न नहुने बताए ।

उनले अहिलेकै गतिमा सडक, पुल र भवननिर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगामी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको प्रस्ट पारे ।

पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेतर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका योजनामा लगानी नगर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

उनले गोरुगाडादेखि गुन्द्रुकसम्म बिक्री गर्नेलाई करको दायरामा ल्याएको विगत गरिएको अभ्यासको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र कर वृद्धि गर्ने भन्दापनि करको दायरा बढाउनेतर्फ ध्यानदिनुपर्ने सुझाव दिए ।

अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीयतहसँग समन्वय गरेर काम गर्ने कुरामा प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले भने, ‘गाउँपालिकाहरुलाई एक भन्दापनि दुई वा सोभन्दा बढी पालिका सहभागी हुने सामुहिक योजनानिर्माणमा ध्यान र त्यस्ता सामुहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहने छ ।’

उनले मुलुक सङ्घीयतामा गएसँग विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँचवर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गरे ।


क्लिकमान्डु