राजस्व तिरेको एक हप्तामा डिजिटल लाइसेन्स वितरण गर्ने तयारी: महानिर्देशक भट्टराई



काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले ग्राहकले राजस्व भुक्तानी गरेको एक हप्ताभित्र डिजिटल लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘डिजिटल इकोनोमीः इम्प्लिकेशन वन पब्लिक सर्भिस’ अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले राजस्व भुक्तानी गरेको एक हप्ताभित्र डिजिटल लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बताएका हुन् ।

विभागले गत हप्ता नै डिजिटल कार्ड छपाईका लागि मेसिन खरिद गर्न टेन्डर आह्वान गरेको छ । विभागले तीन पटकसम्म टेन्डर आह्वान गरेकाे अवस्था छ । ‘पहिलो र दोस्रो चरणमा टेन्डर आह्वान गर्दा कुनै पनि कम्पनीको आवेदन परेन । त्यसैले तेस्रो पटक टेन्डर आह्वानबाट आवेदन परेमा खरिदको प्रकृया अघि बढ्नेछ,’ उनले भने ।

उनकाअनुसार उक्त मेसिन खरिद कार्य अगाडि बढी सञ्चालनमा आएमा ट्रायल दिई पास भई राजस्व तिरेमा एक हप्तामा डिजिटल लाइसेन्स सेवाग्राहीले पाउनेछन् । यसका लागि अध्ययन भइरहेको पनि उनले बताए । साथै, एक हप्ता लाइसेन्स पाउने व्यवस्था आगामी ६,७ महिनामै कार्यन्वयनमा आउने जिकिर गरे ।

यसका साथै विभागले सम्पूर्ण कार्य डिजिटलमार्फत् सेवा प्रवाह गर्ने योजनासहित अगाडि बढिरहेको उल्लेख गरे।


क्लिकमान्डु