बैंकको ब्याजदर यति नै हुनुपर्छ भनेर तोक्न मिल्दैन, ८% भन्दा कम हुनु हुँदैन: पौडेल
काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर यति नै हुनपर्छ भनेर तोक्न नमिल्ने बताएका छन् ।
एकीकृत समाजवादी पार्टीको अर्थ विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलले ब्याजदर मूल्य वृद्धिदर भन्दा अलिकति माथि हुनुपर्ने बताए ।
‘अहिले मूल्यवृद्धि ८ प्रतिशतभन्दा बढी रहेको छ । त्यसैले ब्याजदर आठ प्रतिशत भन्दा बढी हुनैपर्छ । त्यो भएन भने डिपोजिटरको पैसा घट्छ । अहिले डिपोजिटर खाता २ करोड बढी छन् । लोन लिने १८ लाख बढी भनिएको छ । त्यसमा पनि ८० प्रतिशतभन्दा बढी २०० परिवारले उपभोग गरेका छन् ।’
२ करोड खातालाई दोहन गरेर केही मान्छेलाई पोस्ने हो भने अर्थतन्त्र नचल्ने उनको भनाइ छ ।
‘नेपालमा बैंकहरु चाहिनेभन्दा बढी छन् । बैंकको खर्च धेरै छ । बैंकमा कर्मचारी धेरै छन् । उनीहरु भड्किला छन्’ उनले भने ‘मिलेर ब्याजदर फिक्स गर्नु कानूनी रुपमा अवैध छ । प्रतिस्पर्धा ऐनले निषेध गरेको छ । बैंकहरुको स्प्रेडदर उच्च छ ।’
अन्तराष्ट्रिय बजारमा ब्याजदर बढेकाले र मुद्रास्फिती बढेका कारण ब्याजदर ८ वा ९ प्रतिशतभन्दा तल हुन नहुने उनको भनाइ छ ।