‘नेपालमा पर्यटक बसाइ लम्ब्याउन मजबुत पर्यटन नीति आवश्यक’



काठमाडौं । पर्यटन व्यवसायीहरुले मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाई लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन् ।

कोभिड–१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो । तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचीमा राखेको छ ।

नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो । तर कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ । पर्यटन व्यवसायीहरुले नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि भौतिक संरचना लगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताए ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपालले नियमित सिधा उडान सेवा थप बिस्तार गर्नुपर्ने बताए ।

नेपालमा आउने चिनियाँ पर्यटकको नेपाल बसाइलाई बढाउनको लागि गन्तव्य स्थानको भौतिक संरचना बनाउन आवश्यक रहेको उनले बताए ।

चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरुले प्रत्यक्ष रुपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरु समेत बढी खपत हुने बताए ।

‘चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेको छ । नेपालको पर्यटन क्षेत्रको लागि खुशीको कुरा हो । चिनियाँहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाउने भएकाले विदेशमा पर्यटक बनेर घुम्न कम जाने देखिन्छ । अब चीन सरकारले नै जान अनुमति दिएपछि नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा बढ्दै गएको छ’ उनले भने, ‘ २०१९मा नेपालमा आउने सबैभन्दा बढी पर्यटक चिनियाँ रहेका थिए । चीन सरकारले घुम्ने गन्तव्यको दास्रो सूचिमा राख्नाले नेपालका पर्यटन व्यवसायीहरु खुशी भएका छौं । चिनियाँ पर्यटक आउँदा होटल, गाइर्डहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् । त्यस्तै रेष्टुरेण्टमा खानामा बढी खर्च गर्ने तथा नेपाली उत्पादनहरु सबै भन्दा बढी खरिद गर्ने गर्छन् ।’

अर्का होटल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा चीन—नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताए ।

सरकारले निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सहजीकरण गर्नु सक्नुपर्ने उनको भनाइ छ । सरकारले सबैभन्दा पहिला पर्यटन नीति बनाउन आवश्यक रहेको बताउँदै उनले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरे पर्यटक बढ्ने बताए ।

सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाउनुपर्ने उनको भनाइ छ । उनले नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताए ।


क्लिकमान्डु