अध्यक्ष रहँदा ‘इन्साइडर ट्रेडिङ’ गर्ने प्रधानको फाइल सरकारी वकिलको कार्यालयमा



काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनी तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको विषयको अध्ययन प्रतिवेदन सरकारी वकिलको कार्यालय पुगेको छ ।

प्रधानले इन्साइडर ट्रेडिङ गरेको तथ्य फेला परेपछि त्यसबारे अध्ययन भएको थियो र उक्त अध्ययन प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको हो । प्रधानले इन्साइडर ट्रेडिङ गरेको विषयमा क्लिकमाण्डुले २०७८ फागुन २५ गते समाचार सम्प्रेषण गरेको थियो ।

समाचार प्रकाशन भएपछि धितोपत्र बोर्डले यसबारे अनुसन्धान अघि बढाएको थियो । प्रधानले कानुन बिपरित सेयर बिक्री गरेको पाइएपछि धितोपत्र बोर्डले तहकिकात अधिकृत तोकेर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट प्रधानले भित्री कारोबार गरेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा चलाउनका लागि फाइल अघि बढाइएको हो ।

बोर्डले ४५ दिनमा अनुसन्धान सक्न भन्दै तहकिकात अधिकृत तोकेको थियो । ‘बोर्डले तोकेको तहकिकात अनुसन्धान अधिकृतले ४५ दिनभन्दा लामो समय लगाएर अनुसन्धान गर्नुभयो,’ बोर्डका एक अधिकारीले भने, ‘अनुसन्धानबाट प्रधानले भित्री कारोबार गरेको पुष्टि भएपछि उक्त फाइल यही साताको सुरुमा सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।’

प्रधान कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा रकममा बिक्री गरेर कम्पनीबाट बाहिरिएका थिए ।

नेपाल हाइड्रो डेभलपर कम्पनीको सञ्चालक समिति अध्यक्ष र सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिएका थिए । तर, प्रधानले २०७८ साउन दोस्रो साता आफूसँग भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए ।

उनले छोरा चेतनको नाममा रहेको करिब २ करोड रुपैयाँको ३५ हजार कित्ताभन्दा बढी सेयर साउन १७ देखि १० दिनको अवधिमा बिक्री गरेका थिए । छोराको सेयर बिक्री गरेपछि २०७८ साउन अन्तिम साताबाट श्रीमती विमला प्रधान श्रेष्ठको नाममा रहेको करिब २ करोडको ३० हजारभन्दा बढी कित्ता सेयर २ दिनको अवधिमा बिक्री गरेका थिए ।

त्यसलगत्तै प्रधानले छोरी निभिका प्रधानको नाममा रहेको सेयर २०७८ साउन दोस्रो साताबाट साउन तेस्रो साताको अवधिमा बिक्री गरेका छन् । प्रधानले छोरी निभिताको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ करोड बढी रकममा बिक्री गरेका हुन् ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१ क) मा ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिद-बिक्री गर्न नपाइने व्यवस्था’ छ ।

बोर्डले पठाएको प्रतिवेदनमाथि सरकारी वकिलले अध्ययन अनुसन्धान गरेर भित्री कारोबार गरेको पुष्टि हुने देखिएमा अदालतमा मुद्दा दायर हुनेछ । बोर्डले सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दायर गर्ने छ ।

गुरु न्यौपानेविरुद्ध मुद्दा दर्ता

प्रधानकै जस्तो भित्री कारोबार गरेको भन्दै धितोपत्र बोर्डले सरकारी वकिलको कार्यालयमार्फत् रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।

न्यौपानेले धितोपत्र ऐन २०६३ को दफा ९१ बमोजिम भित्री कारोबार गरेको पाइएकाले दफा १०१ को उपदफा (१) बमोजिमको सजाय माग गरिएको छ । अभियोग पुष्टि भएमा न्यौपानेलाई बिगोबमोजिम ३ करोड २३ लाख रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । भित्री कारोबारको अभियोगमा मुद्दा दायर भएको नेपालमा पहिलो पटक हो ।

न्यौपानेले धितोपत्र ऐन उल्लंघन गरेको जनाउँदै बोर्डले पहिलो चरणको कारबाही गरिसकेको छ । पहिलो चरणमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ जरिवाना र कुनै पनि सूचीकृत संगठित संस्थाको १० वर्ष सञ्चालक हुन नपाउने गरी उनीमाथि कारबाही गरिएको थियो ।


सोभित थपलिया