भारतले नेपाललाई आर्थिकरुपमा सबल रहेको देख्न चाहन्छः राजदूत श्रीवास्तव



विराटनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विराटनगरको आइसीपीसम्म सिधै कार्गो रेल ल्याउनका लागि भारत सरकारको तर्फबाट कोसिस भइरहेको बताएकका छन् । चाँडै नेपाल कष्टमसम्म रेल आइपुग्ने र त्यसको हस्तान्तरण नेपाललाई गरिने राजदूत श्रीवास्तवले बताए ।

नेपाल र बंगलादेश जोड्ने गरी सडक सञ्जालको सहजता बढाउँदै लैजान भारतले अग्रसरता देखाइरहेको पनि उनले बताए । त्यसका लागि भारतले आवश्यक कार्यहरु अघि बढाइसकेको उनले दाबी गरे ।

राजदूत श्रीवास्तवले नेपाली उद्योगी व्यवसायीहरुलाई परेको समस्याकै कारण नेपाल सरकारमार्फत भारतबाट आउने गहुँको आयातका लागि कोटा बढाएको बताए । एण्टीडम्पिङ ड्यूटीका विषयमा भने आफूले पनि थप अध्ययन गरेर नेपाली उद्योगी व्यवसायीहरुलाई सहजता बढाउन पहल गर्ने उनले वचनवद्धता गरे ।

मोरङ व्यापार संघले बुधबार साँझ राजदूत श्रीवास्तवलाई आफ्नो कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले नेपाल र भारतले दुवै देशलाई फाइदा हुने गरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल र भारतको सम्बन्ध बराबरको अवस्थामा आइसकेको उनको भनाइ थियो ।

राजदूत श्रीवास्तवले भारतले अरु मुलुकलाई भन्दा पहिलो छिमेकी मुलुककै विकास होस् भन्ने मान्यता राखेको भन्दै भारत र नेपालबीच पौराणिक कालदेखिको सम्बन्ध अहिले आर्थिकरुपमा पनि झन् बलियो बन्दै गएकाले दुवै देश सँगै अघि बढ्नुपर्ने बताए ।

राजदूत श्रीवास्तवले भने, ‘अब आर्थिकरुपमा पनि कोअपरेशन गर्दै सँगै अघि बढ्न चाहन्छौं, ‘छोटे बडे’ भन्ने अवस्था छैन, हामी बराबरीका भाइ हौं भन्ने सोच्नु पर्दछ ।’

सो कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले मीरगञ्ज पुल नजिकै पक्की पुल निर्माण गरेर सञ्चालन समेत भइसकेको भन्दै राजदूत श्रीवास्तवलाई धन्यवाद दिए । अध्यक्ष रिजालले भारतले नेपालको व्यापार प्रवद्र्धधन, जुटका तयारी वस्तुको बजार सम्वद्र्धधन, सहजएवं सुविधायुक्त कारोबार र रेल सेवालाई अझ सहज र प्रभावकारीरुपमा सञ्चालनका गर्न अनुरोध गरे ।

संघका पूर्वअध्यक्षहरु प्रकाश मुन्दडा र सुरेश शर्माले दुई देशबीच सम्बन्ध गाढा भएपनि भारतको तुलनामा नेपालको आर्थिक विकास द्रुतगतिमा हुन नसकेको भन्दै भारत सरकारले नेपालमा अझ लगानी बढाउनुपर्ने बताए । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईवटा नेपाल भ्रमणका ताका नेपालमा लगानी बृद्धि गर्ने प्रतिवद्धता प्राप्त भएपनि औद्योगिक तथा आर्थिक विकासमा भारतीय लगानी नबढेको विषय स्मरण गराए ।


क्लिकमान्डु