पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस, मन्त्री नहुँदा रोकियो



काठमाडौ । सहकारी विभागले ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ ।

विभागले फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको उप-रजिष्ट्रार खिमानन्द आचार्यले बताए ।
विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको भए पनि मन्त्रालयमा मन्त्री नहुँदा काम अघि बढ्न सकेको छैन ।

कुनै सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेमा, संस्था समस्यामा परेमा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने गरेको छ । मन्त्रालयले घोषणा गरेपछि सहकारी व्यवस्थापन समितिको कार्यालयले थप काम अघि बढाउने छ ।

अहिलेसम्म सहकारीले ठगेको भन्दै ५३ करोडको माग दाबी विभागमा परेको बताइएको छ । विभाग स्रोतका अनुसार करिब ८० करोड रुपैयाँ जति बचत फिर्ता गर्न बाँकी देखिएको छ ।

सहकारीले धेरै पैसा जग्गामा लगानी गरेको पाइएको छ । संस्थाले गत वैशाख १२ गते विभिन्न पत्रिकामा पर्यटकीय नगरी मेघौलीमा आकर्षण घडेरीहरु किस्ताबन्दीमा कर्जा सुविधा दिने भन्दै विज्ञापन समेत निकालेको थियो । सहकारीले उक्त समयमा ३०० वटा घडेरीमध्ये आफूलाई मन लागेको जग्गा किन्न भन्दै सूचना निकालेको थियो ।

विभागले गत साउनमा गौतम श्री सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्न विभागले मन्त्रालयलाई सिफारिस गरेको थियो । तत्कालीन समयमा मन्त्री शशी श्रेष्ठले उक्त फाइल रोकेर १ बर्ष काम गर्न दिनु भनेकी थिइन् ।


क्लिकमान्डु