ठगी गरेको भन्दै सहकारी सञ्चालकलाई नियन्त्रणमा लिइ बचतकर्ताले प्रहरीमा बुझाए



काठमाडौं । काभ्रेको बनेपामा रहेको स्वर्णिम बचत तथा ऋण सहकारी र एशियन स्टार बचत तथा ऋण सहकारी संस्थाका सदस्यले संस्थाका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएका छन् ।

यसअघि बचतकर्ताको रकम फिर्ता नगरेर फरार रहँदै आएका स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रमेश राउत क्षेत्रीलाई समातेर बचतकर्ताले प्रहरीको जिम्मा लगाएका हुन् ।

सहकारीका १०, १२ जना सदस्यले भक्तपुर–३ ताथलीका रमेश राउत क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बनेपामा बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुन्डिराज न्यौपानेले सहकारीका सदस्यहरुले राउतलाई इप्रका बनेपामा ल्याएर बुझाएको बताए ।

आइतबार साँझ साढे ४ बजेतिर १०/१२ जनाले राउतलाई ‘सहकारीको ठग हो’ भन्दै इप्रका बनेपामा बुझाएका हुन् ।

पीडितहरुले राउतलाई प्रहरी कार्यालयमा बुझाएको भए पनि प्रहरीले आपसी समझदारीमा आउन आग्रह गरेको छ ।

यो केस सिधै प्रहरीले हेर्न नमिल्ने भएका कारण पीडित र पीडकलाई मिलेर जान आग्रह गरिएको डीएसपी न्यौपानेले बताए ।

‘पीडित भनिएकाहरुले हिजो राउतलाई समातेर इप्रकामा आउनु भएको छ’ उनले भने ‘यो केस सिधै हामीले हेर्न मिल्दैन, हामीले पीडित र पीडकलाई मिलेर जान भनेका छौं । आधिकारीक निकायबाट पत्र आयो र हामीले कानून कार्यान्वयन गर्न सहयोग गर्नुपर्यो भने हामीले अघि बढ्छौं । अहिले दुवै पक्ष मिल्नुको विकल्प छैन ।’

सदस्यका करोडौं रुपैयाँ ‘ठगेर’ भागेका राउतको परिवारले दुवै संस्था चलाएको पाइएको छ ।


क्लिकमान्डु