धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र



काठमाडौं । धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ ।

धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ ।

विसं २०७७ असारमा दुई बर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौँलाई एक वर्षको म्याद थप गरिएको छ ।

पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव–इन्जिनियर बद्री ढुङ्गानाले जानकारी दिए ।

‘कालोपत्र बाहेकको काम सकिने चरणमा छ’, उनले भने , ‘थपेको समय सीमाभित्र काम पूरा हुन्छ ।’

हाललाई छथर जोरपाटी गाउँपालिका–४ ताम्लिङसम्म कालोपत्र गरिने उक्त सडक तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारसम्म जोड्ने योजना छ ।

सडक निर्माणपछि तेह्रथुम र धनकुटाको दक्षिणी भू–भागका नागरिकलाई सहज हुनेछ ।


क्लिकमान्डु