रास्वपाले हामीलाई सघाउँछः एमाले, पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँः रास्वपा



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

एमाले प्रतिनिधिमण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रममा बिहीबार रास्वपा सभपति लामिछानेसँग भेट गरेको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार रहेका नेम्वाङलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको उनको भनाइ छ । रास्वपाले आन्तरिक छलफलपछि निर्णय गर्ने बताएको उनले जानकारी दिए ।

‘संविधान सभा अध्यक्षको रुपमा र सभामुखको रुपमा सफल रुपमा भ‍ूमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ,’ उनले भने, ‘राष्ट्रिय सहमति जसरी मुलुकले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसावले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकै कम नै पाउँछ यो एउटा मौका हो भन्नेकुरा उहाँले गर्नुभयो । पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ । उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ की राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए ।

‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रिय समिति र संस्दीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ’ उनले भनेका छन् ।


क्लिकमान्डु