दुई वर्षीया छोरीको हत्या गर्ने बुबा पक्राउ



बागलुङ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले दुई वर्षकी छोरी आरिसा दिनको हत्या गरेका थिए ।

घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए ।

छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । सायरले केकति कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले बताए ।


क्लिकमान्डु