हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ देखि



काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठ २३ देखि (जुन ६) सुरु हुने भएको छ । कोरोना महामारीका कारण सन् २०१९ पछि स्थगित भएपश्चात जेठ २३ देखि हिमालयन ट्राभल मार्ट आयोजना हुन लागेको हो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को नेपाल च्याप्टरले पर्यटन बोर्ड, वायु सेवा निगम र पाटा इन्टरनेसनलको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । काठमाडौंमा आयोजना हुने कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिलाई मार्टमा सहभागी भई पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र नेपाललाई महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न निमन्त्रणा गरिएको बताइन् ।

जेठमा हुने कार्यक्रमलाई लिएर अहिलेबाट नै तीव्र रुपमा तयारी भइरहेको उनी बताउँछिन् । ‘कोभिडले विश्वव्यापी रुपमा नै पर्यटन उद्योगमा असर गरेको छ,’ उनले भनिन्, ‘विस्तारै लयमा फर्किरहेको पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन हामीले हिमालयन ट्राभल मार्ट आयोजना गरेका हौं ।’


क्लिकमान्डु