लगानी बोर्ड र एडीबीको सहकार्यमा दक्षता अभिवृद्धि तालिम सुरु



काठमाडौँ । नेपाल सरकारका ९ मन्त्रालय र लगानी बोर्डका अधिकारी एवं परामर्शदाताको दक्षता विकासका लागि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । लगानी बोर्ड र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा दक्षता विकासका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

चार दिने प्रशिक्षण कार्यक्रमले लगानी बोर्डमा कार्यरत जनशक्तिमा सार्वजनिक-निजी साझेदारीका परियोजना तयारी तथा सार्वजनिक-निजी साझेदारी सम्झौताका पक्षहरूबीच जिम्मेवारी र जोखिमको बाँडफाँड र परियोजनाको वित्तीय संरचनाको निर्धारणका लागि दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि भई पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने विश्वास छ । तालिम कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डको कार्यालय पीपीपी परियोजना कार्यान्वयनका लागि विशिष्टीकृत निकाय भएकाले उर्जा र गैरउर्जा क्षेत्रका पीपीपी परियोजना सफलतापूर्वक अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै एडीबीको नेपालस्थित मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा कोश्वाले पीपीपीसम्बन्धी ज्ञान र दक्षता अभिवृद्धि गरी त्यसलाई राष्ट्रिय र क्षेत्रीय परिदृश्यअनुसार अभ्यास गर्न सकिने उल्लेख गरे ।


क्लिकमान्डु