पोखरा र भैरहवामा विमानस्थल भए पनि काठमाडौंमा अवतरण हुन नसकेका विमान भारत जाने क्रम रोकिएन



काठमाडौं । गत जेठ १ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौंको विकल्प भएको बताएका थिए ।

अर्थात् उनको भनाइ थियो, ‘कुनै कारणवश काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन नसकेमा भैरहवामा अवतरण हुनसक्छन् ।’

यस्तै, गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटन भएको दिन पनि अधिकारीले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने बताएका थिए ।

नेपालमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि काठमाडौंमा अवतरण हुन नसकेका विमान भारत पुग्ने क्रम रोकिएको छैन ।

प्राधिकरणले तयारी विना भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याएकाले काठमाडौंमा अवतरण हुन नसकेका विमान भारत पुग्ने क्रम नरोकिएको नेपाल वायु सेवा निगमका एक पाइलट बताउँछन् ।

हाल नेपालमा उडान गर्ने वायु सेवा कम्पनीले पोखरा र भैरहवालाई वैकल्पिक विमानस्थल नमानेकाले काठमाडौंमा अवतरण हुन नसकेका विमान भारतको लखनउ र पटना जाने गरेको ती पाइलटको भनाइ छ ।   

‘कुनै पनि गन्तव्यबाट विमान उड्नुअघि नै वैकल्पिक विमानस्थल यकिन गरिएको हुन्छ,’ ती पाइलटले भने, ‘नेपाल वायु सेवा निगमले पनि पोखरा र भैरहवालाई वैकल्पिक सूचीमा राखेको छैन । जसले गर्दा काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका सबै विमान भारत जाने गरेका छन् ।’

आइतबार बेलुका हावाहुरी र पानी परेपछि काठमाडौंको मौसम खराब भएको थियो । जसले गर्दा काठमाडौं विमानस्थलको उडान र अवतरण प्रभावित बन्यो ।

भारतको नयाँ दिल्लीबाट काठमाडौंलाई उडेको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौं उडेको फ्लाइ दुबईको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेनन् ।

जसले गर्दा दुबै विमानलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरियो । काठमाडौंमा मौसम सफा भएसँगै दुबै विमान काठमाडौंमा अवतरण भइसकेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी प्राधिकरणले भैरहवा र पोखरा विमानस्थललाई विकल्प बनाउने गरी पूर्वाधार व्यवस्थापन गर्न नसेककाले नेपालमा दुई अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै पनि आकस्मिक अवतरणका लागि भारत जानुपरेको बताउँछन् ।

‘त्रिभुवन विमानस्थलको विकल्प भारतको पटना वा लखनउ राख्दा नेपाल उडान गर्ने वायु सेवा कम्पनीले बढी इन्धन ल्याएर आउनुपर्छ,’ ती अधिकारीले भने, ‘भैरहवा विकल्प भएको भए वायु सेवा कम्पनीले इन्धन कम गरेर थप यात्रु वा कार्गो ल्याउन सक्ने थिए । जसले गर्दा काठमाडौंको भाडादर पनि सस्तो हुने थियो ।’

काठमाडौं र भैरहवाको रनवेको लम्बाई समान छ । जसले गर्दा काठमाडौं विमानस्थलमा अवतरण हुने सबै विमान भैरहवामा सजिलै अवतरण हुन सक्छन् । तर, भैरहवा विमानस्थललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने विषयमा योजना बनाउन प्राधिकरण असफल बन्दै गएको छ ।

नेपालमा उडान गर्ने एक वायु सेवा कम्पनीका स्थानीय प्रतिनिधि भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपर्यो भने यात्रुलाई कहाँ राख्ने, चालकदलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषयमा टुंगो नलागेका कारण अन्य विमानस्थललाई कुनै पनि वायु सेवा कम्पनीले वैकल्पिक विमानस्थल नबनाएको बताउँछन् ।

‘सयौं यात्रुलाई कुन होटलमा राख्ने, होटलमा कसरी लैजाने, दोस्रो दिन फेरि विमानमा चढाउँदा जाँच कसरी गर्नेलगायतका विषय टुंगो नलाग्दासम्म कुनै पनि विमानस्थलमा आकस्मिक अवतरण गर्ने गरिँदैन,’ ती अधिकारीले भने, ‘भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौंमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन ।’


क्लिकमान्डु