आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका अनुमान हुन्: माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए ।

उनले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए ।

उनले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे ।

‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ति चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो नीजि कुरा हो।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको टिप्पणी गरे । आफूहरुकाबीचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाइ छ । उनले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।


क्लिकमान्डु