सहकारीले बैंकसरह कारोबार गर्दा समस्या: मैनाली



काठमाडौं । पूर्वसचिव गोपनाथ मैनालीले सहकारी संस्थाले आफूलाई बैंकसरह ठानेर कारोबार गर्दा अहिलेको समस्या निम्तिएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाले आयोजना गरेकाो ‘सहकारीमा संकट : कारण र समाधान’ विषयक अन्तर्क्रियामा उनले सहकारीले ऐन, नियमअनुसार काम गर्ने हो भने अहिलेको समस्या स्वत: समाधान हुने स्पष्ट पारे ।

‘बढी समस्या नीति निर्माण तहमा हुने, कानुन नै तल-माथि गर्नसक्ने व्यक्ति सञ्चालक र सीईओ भएको संस्थामा छ,’ मैनालीले भने, ‘उनीहरुले नीति-नियम मानेर, घर-जग्गामा लगानी नगरेका भए समस्या आउने थिएन ।’

कम्पनीका सञ्चालक नै सहकारीको सञ्चालक हुने र सहकारीको पैसा कम्पनीमा लगानी गर्ने गरेकाले समस्या बढेको उनले बताए । उनले कम्पनीका सञ्चालकलाई सहकारीबाट तत्काल निकाल्न आग्रह गरे ।

सहकारीले दिने लाभांश सरकारको ऋणपत्रअनुसार हुने व्यवस्था गर्न पनि उनले सुझाव दिए । ‘लाभांशमा कडाइ गर्ने हो भने पनि समस्या समाधानमा सहयोग पुग्छ,’ मैनालीले भने, ‘अहिले पनि सहकारी संस्थाले उपल्लो तहका नेता, कर्मचारीलाई खादा लगाउने, देश-विदेश घुमाउने र सेलिब्रेसन गर्ने काम रोकिएको छैन, त्यो पैसा सदस्यको हो भन्ने भुल्न हुँदैन ।’


क्लिकमान्डु