लाभांशमा कडाइ गर्ने निर्देशनले लघुवित्तमा पहिरो, ३७ कम्पनीको कारोबारमा नकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा पहिरो गएको छ । लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा आएको भारी गिरावटको असर बजारमा देखिएको छ । त्यती मात्रै नभएर यो दिन सबै समूहको उपसूचक राताम्मे बनेका छन् । जसको असर बजारमा देखिएको छ ।

बिहीबार सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक ४१२.०२ अंकले घटेको छ । बिहीबार करिब ४० वटा माइक्रोफाइनान्स कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।
सेयर लगानीकर्ताका अनुसार केन्द्रीय बैंकले बुधबार लिएको नीतिका कारण माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन तथा परिमार्जन गर्दै लघुवित्त कम्पनीले दिने लाभांशको सीमा २० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा मा झारेको छ ।

यो व्यवस्था अनुसार अब लघुवित्त कम्पनीले वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश दिए १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्छ ।

यस्तै तोकिएको नयाँ सीमा भन्दा बढी लाभांशको ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश दिएमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाका कारण बिहीबार लघुवित्तको कारोबारमा पहिरो गएको नेपाल इन्भेष्टर फोरमका निवर्तनमा अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

पछिल्लो समय माइक्रोफाइनान्सका विषयमा आएका नकारात्मक कुरा, बुधबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका विभिन्न विषय र सोही दिए केन्द्रीय र्बैंकले लिएको नीतिको असर बिहीबारको कारोबारमा परेको उनको दाबी छ ।
नियमन गर्न नसक्ने नियकाले लाभांशमा बढी हस्तक्षेप गर्दा बजारमा असर परेको उनको बुझाइ छ ।

बिहीबार बजार मापन गर्ने सूचक ५७.७४ अंकले घटेर परिसूचक २०२२.६४ बिन्दुमा ओर्लिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २४.२२, विकास बैंक ५३.०९, जलविद्यूत ५८.०७, जीवन बीमा २१८.७०, निर्जीबन बीमा समूहको उपसूचक १९८.९२ अंकले घटेको छ ।

बिहीबार २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार ५१३ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु