कलंकी-महाराजगन्ज सडक विस्तार चाँडै शुरु हुने



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगन्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए ।

उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगन्जसम्मको सडकपनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए ।

मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन् सङसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए।

सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाए । बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको उनले बताए । स्वयम्भूनाथका संरचना भने नभत्काइकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको उनको भनाइ छ ।

चीन सरकासँग कलंकीदेखि महाराजगन्जसम्मको मात्रै सहमति भए पनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक विस्तार गरिदिन आग्रह उनले गरे ।


क्लिकमान्डु