जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने सरकारको निर्णयमा ओलीको असन्तुष्टि



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गर्दै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो ? भनि प्रश्न समेत गरे। उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताए ।

‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा चाँही सही होइन । सरकारले किन त्यो गर्‍यो ? आकास्मिक रुपमा त्यो किन गर्नु पर्‍यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्न पर्‍यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएकोजस्तो मात्रै लाग्छ मलाई’ उनले भने ।


क्लिकमान्डु