लघुवित्तहरुको समस्या समाधान गर्न गम्भीर छौंः अर्थमन्त्री



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपश्चात् संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले सरकार लघुवित्तमा देखिएका समस्या समाधानको लागि गम्भीर भएको र समाधानका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको बताए ।

विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको बताउँदै उनले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको र समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताए । चाँडै लघुवित्तमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ ।

‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाइन । यो विषयमा गम्भीर भएर सरोकारवालाहरुसहित बैठक बसेका छौं । केही मत्वपूर्ण निर्णयहरु पनि गरेका छौं’ उनले भने, ‘लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ । लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ । त्यसलाई समस्या आउनुको कारणहरु खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरु लागि सकेका छन् । त्यसका परिणामहरु निरन्तर आउँदैछन् ।’

उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनत साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताए ।

अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको उनको भनाइ छ ।


क्लिकमान्डु