साढे १३ अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा, कुनको कति ?



काठमाडौं । विभिन्न २६ वटा कम्पनी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्ड पुगेका छन् ।

बोर्डमा २६ कम्पनीले १३ अर्ब ६२ करोड ३५ लाख ६ हजार २६० रुपैयाँबराबरको ८ करोड ३ लाख ८९ हजार ८१६ कित्ता आईपीओले निष्कासन गर्न निवेदन दिएका हुन् ।

बोर्डको अनुमति पर्खिरहेका २६ कम्पनीमध्ये २ वटाले बुक विल्डिङ विधिमार्फत र ५ वटाले प्रिमियम मूल्यमा सेयर निष्कासनको तयारी गरेका छन् ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । दुवैले सुरुमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्नेछन् ।

सर्वोत्तम सिमेन्टले सुरुमा २४ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले धितोपत्र बोर्डमा २०७९ असार २८ गते आवेदन दिएको हो । तर, अहिलेसम्म आईपीओ निष्कासन प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।

यस्तै रिलायन्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो । यसको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल नै छ । कम्पनीले बोर्डमा २०७९ असार ३१ गते आवेदन दिएको हो ।

यस्तै सोनापुर मिनरल्स एन्ड आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, मान्डु हाइड्रोपावर र घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेका छन् ।

सोनापुर मिनरल्स एन्ड आयल्सले ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२३ रुपैयाँबराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँमा स्थानीयबासी र कर्मचारीका लागि आईपीओ निष्कासनको तयारी गरेको छ ।

त्यस्तै, सर्वसाधारणलाई १४९ रुपैयाँ ८४ पैसा प्रिमियम थपेर २४९ रुपैयाँ ८४ पैसामा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

मान्डु हाइड्रोपावर कम्पनीले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४८ रुपैयाँ प्रिमियम थपेर स्थानीय र सर्वसाधारणलाई २४८ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल हो ।

घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्कासन गरिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

बोर्डको पाइपलाइनमा रहेका २६ मध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी छन् । पाइपलाइनमा रहेक कम्पनीमा १२ वटा जलविद्युत कम्पनी छन् । त्यस्तै २ वटा बिमा कम्पनी र ४ वटा उत्पादनमूलक कम्पनी छन् ।
आईपीओ निष्कासनको अनुमति पर्खिरहेका कम्पनीहरु:


क्लिकमान्डु