सांगीतिक प्रस्तुतिबाटै क्यान्सर सचेतना



उदयपुर । बेलका नगरपालिकामा क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । बेलका विकास समाज र राजन विश्वकर्मा क्यान्सर केयर एसोसिएसनको संयुक्त आयोजनामा वडा नम्बर ४, लालबजारमा बृहत जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

क्यान्सरका कारण बेलका नगरपालिकामा फागुन लागेयता दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ बिरामी उपचाररत छन् । जनचेतनाको अभावले नै बिरामी बढिरहेकाले चेतनामूलक कार्यक्रमको सुरुवात गरिएको बेलका विकास समाजका अध्यक्ष मोतिराज थापाले बताए ।

आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ । करिब दुई हजार स्थानीयवासीको सहभागिता रहेकाले कार्यक्रम प्रभावकारी भएको कार्यक्रम व्यवस्थापक टेकबहादुर कार्कीले बताए ।

जनसहभागिता बढाउन कार्यक्रममा क्यान्सरसम्बन्धी जानकारीमूलक सांगीतिक प्रस्तुतिहरू पनि राखिएको थियो । रियालिटी शो ‘लोकस्टारका सेकेन्ड रनर अप’ विनोद दनुवारलगायत कलाकारले चेतनामूलक सांगीतिक प्रस्तुति दिएका थिए ।

क्यान्सर केयर एसोसिएसनका अध्यक्ष राजन विश्वकर्मा आफैं क्यान्सरपीडित हुन् । ब्लड क्यान्सरलाई जितेका उनले आफ्नो अनुभव सुनाएका थिए । अहिले खानपान, जीवनशैलीमा ध्यान दिए भविष्यमा क्यान्सरकै कारण हुने शारीरिक, आर्थिक तथा मानसिक तनावबाट मुक्ति पाइने उनले बताए ।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले क्यान्सरका बिरामी दिनप्रतिदिन थपिँदै गएकाले नगर सरकारले पनि यस्ता चेतनामूलक अभियानलाई प्रोत्साहन गर्ने बताए । ‘रोग लाग्नै नदिन पहल गर्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘स्वास्थ्य सचेतनासम्बन्धी यस्ता अभियानलाई नगरपालिकाले पूर्णरूपमा सहयोग गर्छ ।’

वडा नम्बर ४ का अध्यक्ष तीर्थ अधिकारीले क्यान्सरकै बिरामी बढिरहेका बेला सुरु भएको चेतनामूलक अभियान स्वागतयोग्य रहेको बताए ।

कार्यक्रममा एमाले नगरकमिटी अध्यक्ष गणेश बस्नेत, माओवादी केन्द्र नगरकमिटी अध्यक्ष मनोज लामालगायतले शृङ्खलाबद्ध रूपमा यस्ता कार्यक्रम गर्न आयोजकलाई सुझाव दिए । त्यसमा आफूहरूको पूर्ण सहयोग रहने उनीहरूको प्रतिबद्धता थियो ।

पीडितलाई सहयोग

आर्थिक अवस्था कमजोर भएका ४ जना क्यान्सर बिरामीका लागि कार्यक्रममा सहयोग संकलन पनि गरिएको थियो ।
एक वर्षयता वीर अस्पतालमा उपचाररत बेलका नगरपालिका– ५ का अमृतलाल राई र बेलका– ४ का गणेश थापा मगर, बेलका– ५ का जीतबहादुर खत्री र बेलका– ४ की लिला पाण्डेको नाममा कार्यक्रममा सहभागीहरूबाट ४० हजार रुपैयाँ संकलन गरिएको हो ।

यीमध्ये खत्रीलाई उनकै घरमा पुगेर बेलका विकास समाजका पदाधिकारीले १० हजार रुपैयाँ हस्तान्तर गरेका छन् भने बाँकी बिरामीलाई जनही १० हजारका दरले अस्पतालमै पुगेर बुझाइने व्यवस्थापक कार्कीले बताए ।

‘हाम्रो उद्देश्य क्यान्सर सचेतना नै हो तर कार्यक्रमका क्रममा केही रकम पनि संकलन गर्न सकियो भने बिरामीको आर्थिक चाप कम गर्न मद्दत पुग्छ भनेर संकलन गर्‍यौं’, उनले भने ।


क्लिकमान्डु