सेन्सरसहितको धाराबाट मेलम्चीको पानी खुवाउने तयारी



काठमाडौं । सरकारले सिंहदरबारमा सेन्सरसहितको धाराबाट मेलम्चीको पानी खुवाउने तयारी गरेको छ। खानेपानी मन्त्रालयले मन्त्रालयभित्रका सर्वसाधारणहरूलाई निःशुल्क पानी खुवाउने उदेश्यले सेन्सरसहितको धाराको व्यवस्था गर्ने जनाएको हो।

मन्त्रालयका सचिव मनिराम गेलालले यही हप्ताभित्र मन्त्रालयमा तीन वटा सेन्सरसहितको धारा जडान हुने बताए । उनकाअनुसार सिंहदरबारमा आउँदा सर्वसाधारणहरूलाई खानेपानीको समस्या छ । उक्त समस्या समाधान गर्न मन्त्रालयले अब आउने हप्तामा धारा जडाजन गरी मेलम्चीको पानी खुवाउने तयारी हो ।

त्यस्तै आगामी दिनमा एयरपोर्ट तथा बसपार्कमा पनि सेन्सरसहितको धाराको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘अहिले आम सर्वसाधारणले बाहिर बोटलको पानी किनेर खानुपर्ने बाध्यता छ । आगामी दिनमा उक्त बाध्यतालाई हटाउन मन्त्रालयलले सबै ठाउँमा सेन्सरसहितको धाराबाट खानेपानीको व्यवस्था गर्नेछ,’ उनले भने ।

सरकारले यसअघि नै मन्त्रालयमा बोटलको पानी खाने प्रचलन हटाएर जारको व्यवस्था गरेको छ । खानेपानी मन्त्रालयअनुसार अहिले सिंहदरबारभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले प्रदान गरेको जारबाट नै मेलम्चीको पानी खुवाइरहेको जनाएको छ ।


क्लिकमान्डु