जम्मू-कश्मीरमा लिथियमको भण्डार फेला, विश्वको पाँचौं ठूलो लिथियम भण्डारण भएको देश बन्यो भारत
एजेन्सी । भारतीय सरकारले आफ्नो देशमा लिथियमको निकै ठूलो र महत्वपूर्ण भण्डारण भएको पत्ता लगाएको दाबी गरेको छ। भारत सरकारले ९ फेब्रुअरीमा यस्तो घोषणा गरेको हो । भारतको खनिज मन्त्रालयले जम्मू–कश्मीर क्षेत्रमा ठूलो मात्रामा लिथियमको खानी भेटिएको जानकारी दिएको हो ।
भारतभित्रै यो मात्रामा लिथियम भेटिएसँगै भारत विश्वभरमै पाचौं ठूलो लिथियमकोे भण्डारण भएको देश बनेको छ । यसअघि विश्वभरमा बोलेभिया, चिली, अष्ट्रेलिया, चीन र अर्जेन्टिनामा लिथियमको ठूलो भण्डारण थियो । अब भने भारतमा अर्जेन्टिनामा भएकोभन्दा पनि ठूलो लिथियमको भण्डारण फेला परेको दाबी भारत सरकारको छ । ले दाबी गरेको छ ।
लिथियम पछिल्लो समयमा निकै महत्वपूर्ण खनिजको रुपमा प्रयोग भइरहेको वस्तु हो । यसलाई ‘सेतो सुन’ पनि भनिन्छ । लिथियमको प्रयोग विद्युतीय सवारी साधन, मोबाइल फोन, ल्यापटपजस्ता विद्युतीय उपकरणहरुको ब्याट्रीमा प्रयोग हुन्छ ।
भारत सरकारको जियोलोजिक सर्वो अफ इण्डियाले जम्मू कश्मीर क्षेत्रमा लिथियमको ५९ लाख टन भण्डारण भेटिएको दाबी गरेको छ । यो भण्डारण रियासी जिल्लामा रहेको बताइएको छ ।
भारतमै लिथियमको यस्तो ठूलो भण्डारण भेटिनुले आगामी दिनमा भारतीय अर्थतन्त्र र भारतमा विद्युतीय उपकरणका लागि आवश्यक ब्याट्रीमा आत्मनिर्भर बन्ने भविष्यको संकेत गरेको विश्लेषण हुन सुरु गरेको छ ।
लिथियमका लागि हालसम्म भारत अष्ट्रेलिया र अजेन्टिनाजस्ता देशहरुमाथि निर्भर थियो । रिचार्जएवल ब्याट्रीमा प्रयोग हुने लिथियम डिजेल र पेट्रोलको विकल्पको रुपमा पनि हेरिएको खनिज हो । यसले डिजेल र पेट्रोल गाडिबाट हुने प्रदुषण कम गर्नमा पनि विकल्प बन्न सक्ने बताइन्छ ।
जानकारहरुका अनुसार जम्मू–कश्मीर लिथियमको विशाल भण्डारण भेटिनुले ग्लोबल वार्मिङको लागि जिम्मेवार कार्बन उत्सर्जन कम गर्नमा भारतको कोशिशलाई थप सहायता पुग्नेछ । यो भण्डारणकै कारण भारतमा २०३० सम्ममा विद्युतीय सवारी साधनको निर्माणमा ३० प्रतिशतसम्मको बृद्धि हुने अनुमान गरिएको छ ।
भारतको खनिज मन्त्रालयकाअनुसार जियोलोजिकल सर्वे अफ इण्डियाले लिथियमको यो भण्डारण जम्मू कश्मीर क्षेत्रको रियासी जिल्लाको सलाल हेमना ब्लकमा भेट्टाएको हो । यो क्षेत्र चिनाब नदीमाथि बनेको ६९० मेगावाटको क्षमता भएको सलाल पावर स्टेसनभन्दा लगभग ८ किलोमिटर टाढा रहेको छ । लिथियम भण्डारण भेटिएको सलाल क्षेत्रको वरिपरि कतै पछि उल्लेख्य मात्रामा मानव वस्ती छैन् ।
भारतको जम्मू कश्मीरको उत्खनन विभागका सचिव अमित शर्माले रियासी जिल्लमा पाइएको लिथियमको यो भण्डारणको बारेमा बताउँदै भनेका छन्, ‘भारत जि–२० देशहरुको समूहमा छ । यस्तो समयमा लिथियमको यो भण्डारण पाइनु भारतका लागि सुखद संयोग हो ।’
शर्माकाअनुसार यो भण्डारणले भारतका लागि ‘गेमचेन्जर’ भूमिका निभाउन सक्छ । देश विकासको दिशालाई नै परिवर्तन गर्न सक्ने अवसर फेला परेको उनले बताएका छन् । उनी भन्छन्, ‘लिथियमको भण्डारण पाइनुले विश्व मानचित्रमा विद्युतीय सवारी साधनलगायतको क्षेत्रमा हाम्रो उपस्थितिलाई सूचिकृत गरेको छ । अब पुरै विश्वमा नै हाम्रो देश पनि लिथियममा आत्मनिर्भर बन्ने र छिट्टै नै लिथियमको निर्यात गर्ने सिमित देशहरुको सूचीमा पर्नेछ ।’
शर्मा यसलाई ‘ग्रीन इण्डिया’ र ‘इको फ्रेण्डली इण्डिया’ बनाउने सपनालाई साकार बनाउने दिशामा एउटा महत्पूर्ण कदम भएको बताउँछन् । ‘यो जम्मू–कश्मीरका लागि गेमचन्जर साबित हुनेछ । उत्पादन उद्योगको लागि, विद्युतीय बहाका लागि, मोबाइल फोन उद्योगका लागि, सबै क्षेत्रमा यसले महत्पूर्ण भूमिका खेल्छ’ उनी भन्छन् ।
शर्माकाअनुसार भारत अहिले लिथियमको उत्खनन र उत्पादनको सुरुवाती चरणमा छ । अहिले लिथियमको भण्डारण मात्रै फेला परेको हो । यसलाई उत्खनन गरेर ब्याट्री उत्पादन गर्ने स्तरमा पुग्न भने केही वर्ष अवश्य लाग्छ ।
शर्मा यसका लागि कुशल श्रमिकहरु आवश्यक हुने पनि बताउँछन् । कुशल र दक्ष श्रमिक आवश्यक पर्ने, प्राविधिक रुपमा अत्यन्तै आधुनिक उपकरण चाहिने र अन्य आवश्यक कोबोल्डजस्ता खनिजहरु आवश्यक पर्ने हुँदा शर्मा अहिले नै भारतले ब्याट्रीको उत्पादन गर्ने नभएर केही समयपछि मात्रै यो चरणमा पुग्ने बताउँछन् ।
यसअघि पनि सन् २०२१ मा भारतको कर्नाटक राज्यमा लिथियमको भण्डारण पाइएको थियो । तर, त्यो भण्डारण निकै सानो थियो । तर, अहिले भेटिएको भण्डारण आकारमा ठूलो र त्यहाँ लिथियमको मात्रा पनि धेरै भएकाले यसले नयाँ बाटो खोल्ने भने देखिएको शर्मा बताउँछन् ।