‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर लगानीकर्ताको अपेक्षाअनुसार आएन’



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन नगरेको लगानीकर्ताहरुले बताएका छन् ।

शुक्रबार केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहे पनि अपेक्षानुसार नभएको उनीहरुले गुनासो गरेका हुन् ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर मार्जिन धितोकर्जामा लागू भएको ४/१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरुको रहेको थियो । तर चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भए पनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा गरिएको भए पनि सम्बोधन नगरेर राष्ट्र बैंकले सेयर लगानीकर्तालाई उपेक्षा गरको उनीहरुले आरोप लगाए ।

नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए ।

अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु अर्थतन्त्रमा कही सहज हुँदा पुनरावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भए पनि अपेक्षाअनुसार नआएको गुनासो गरे ।

पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले कार्यविधि बनाउँदा सेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उनले उल्लेख गरे ।

‘सेयर लगानीकर्ताहरुको माग राष्ट्र बैंकले सम्बोधन गरेन । अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु आज केही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा,चासो र हुन्छ नै भन्ने विश्वास पनि थियो’ उनले भने ।

पौडेलले नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको तर्क गरे । उनले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए ।

अहिले पुँजीबजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले सेयर बजारमा प्रभाव नपर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुनसक्ने उनको धारणा छ ।

‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरियोस् भन्ने थियो । यसले दिगो पुँजीबजारको विकासको लागि आरोह अवरोह नहोस् भन्ने हाम्रो चाहना थियो । त्यो भइदिएन’पौडेलले भने ।

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन् ।

सेयर लगानीकर्ताले ४ वटा माग राख्दा राष्ट्र बैंकले सम्बोधन नगर्नु सेयर बजारप्रति उपेक्षा भएको उनको आरोप छ ।

आफूहरुले राखेको ४/१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको उनले गुनासो गरिन् ।

‘वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भनिन्,’१२ करोडको सीमा खारेज,भारित औसत १०० रहेकोमा १५० गरिएको थियो त्यसलाई १०० मा नै कायम गर्न र बैंकको १६ प्रतिशत पुगेको ब्याजदरलाई कम गर्न सुझाव दिएकाले माग सम्बोधन हुने लगानीकर्ताहरुको अपेक्षा थियो । अपेक्षा अनुसार सम्बोधन हुन सकेको छैन ।’

लगानीकर्ताहरुले माग गरेका सामान्य विषयलाई पनि नियमक निकायले सम्बोधन नगर्दा निराशा छाएको उनको भनाइ छ ।

सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको उनले बताइन् ।

लगानीकर्ता संघहरुले १२ करोड (१२ करोड) सम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको उनले बताइन् ।

अध्यक्ष पोखरेलले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताइन् ।

सेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पुँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उनको भनाइ छ ।

मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने उनले बताइन् ।

उनले पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताउँदै पछिल्लो समय राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक रहेको भन्दै पुँजी बजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गरेको आरोप लगाइन् ।

‘पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । नयाँ सरकार बनेको छ । लगानीकर्ताले चाहेको अर्थमन्त्री आउनुभएको छ । अब अर्थमन्त्रीले पुँजीबजारलाई दीर्घकालिन रुपमा व्यवस्थित बनाउनु पर्छ । बजारका नीतिगत समस्यालाई सुधार गर्नुपर्छ,’ पोखरेलले भनिनन्, ‘पछिल्लो समय राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक रहेको छ । पुँजीबजारलाई नियमन गर्ने बहानामा राष्ट्र बैंकले नियन्त्रण गरेको हो ।

अध्यक्ष पोखरेलले नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको आरोप लगाइन् ।


क्लिकमान्डु