सुदुरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त



काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । सुदुरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत दिन राखिएको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि रावल पदमुक्त भएका हुन् ।

नेकपा एमालेका तर्फबाट पुस २७ गते मुख्यमन्त्री भएका रावलले प्रदेशसभामा बहुमत जुटाउन नसकेपछि पदबाट हट्नु परेको हो । रावलले विश्वासको मत दिन राखेको प्रस्ताब बहुमतले अस्वीकृत भएपछि प्रदेशसभामा मत विभाजन नै गर्नु परेन ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम अब प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता मुख्यमन्त्री हुनेछन् ।

गत पुस २७ गते रावल नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मूक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र रावलले विश्वासको मत लिन सकेनन् । प्रदेशसभामा ७ जना सांसद रहेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित भएपछि विश्वासको मत दिने प्रस्तावमाथि नै छलफल हुन सकेन ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजबादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । बहुमतका लागि २७ सांसदको समर्थन जुटाउनु पर्नेमा रावलले २० जना सांसदको मात्रै समर्थन पाए । माओवादीका तर्फबाट १ जना सभामुख निर्वाचित भएपछि सत्तारुढ दलसँग २० जना मात्रै सांसद छन् ।

बुधबार विश्वासको मत लिने गरी प्रदेशसभाको बैठक आह्वान भएपनि नागरिक उन्मुक्तिका सांसदहरु काठमाडौं आएर बसेपछि बैठक स्थगित गरिएको थियो । बिहीबार दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक नागरिक उन्मुक्तिका सांसदलाई फकाउन भन्दै ४ बजेका लागि सारिए पनि सो पार्टीका सांसदहरु उपस्थित भएनन् ।


क्लिकमान्डु