३४.८८ प्रतिशतले बढ्यो जीवन बीमालेख संख्या, ४४.२५ प्रतिशत बीमाको दायरामा



काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको दायरा(म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.२५ प्रतिशत जनसंख्यामा पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १०.८४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको पहुँच ३३.४१ प्रतिशत जनसंख्यामा पुगेको थियो । म्यादी, लघु म्यादी जीवन बीमालेख सहित बीमाको पहुँच ४० प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३०.५६ प्रतिशत मात्रै रहेको थियो ।

पुससम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ५२.१७ प्रतिशत र जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) ४३.६९ प्रतिशतले बढेर ७३ लाख १३ हजार १२१ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ ।

एक वर्षको अवधिमा कुल जीवन बीमालेख संख्या ३४.८८ प्रतिशतले बढेर १ करोड ४१ लाख ९ हजार ३२ वटा पुगेको छ ।

यस्तै, बैदेशिक रोजगार बीमालेख संख्या ५२.१७ प्रतिशतले बढेर १२ लाख ९४ हजार ४५९ वटा पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारका ८ लाख ५० हजार ६९० वटा बीमालेख बिक्री गरेका थिए । निर्जीवन बीमा कम्पनीहरुमा जारी भएका बीमालेखको संख्या भने ६.११ प्रतिशतले घटेर १३ लाख ९५ हजार ३२ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी गरेका थिए ।

व्यवसाय भने १.९१ प्रतिशतले बढ्यो

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १.९१ प्रतिशतले बढेर ९१ अर्ब ७३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ९० अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । यस अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका ३ हजार ३७८ वटा शाखा कार्यालयहरुमा १२ हजार २९ जना कर्मचारीहरु कार्यरत छन् ।


क्लिकमान्डु