नेपाल पुनर्बीमा कम्पनीद्वारा तीन महिनामा ४७ करोड ६१ लाख दाबी भुक्तानी



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाको अवधिमा ४७ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले कात्तिक, मंसिर र पुस महिनाको अवधिमा ४७ करोड ६१ लाख ८५ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले यस अवधिमा ४४८ वटा दाबीवापत उक्त रकम भुक्तानी गरेको हो ।

पुनर्बीमा कम्पनीले स्वदेशी बीमा कम्पनीसँगै विदेशी बीमा कम्पनीहरुको समेत व्यवसाय लिँदै आएको छ । स्वदेशी जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको व्यवसाय लिँदै आएको कम्पनीले विदेशी बीमा कम्पनीको हकमा भने निर्जीवन बीमा कम्पनीको मात्रै व्यवसाय मात्रै लिन्छ ।

यस अवधिमा कम्पनीले स्वदेशी बीमा कम्पनीबाट दाबीका लागि आएका १५८ वटा दाबीको भुक्तानी गरेको छ । भने विदेशी बीमा कम्पनीबाट प्राप्त भएका ५४ वटा दाबीको दाबी भुक्तानी गरेको छ ।

कुन महिनामा कति भुक्तानी ?

कम्पनीले पुस महिनाको अवधिमा ११४ वटा बीमा दाबीवापत ११ करोड ४० लाख २३ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमध्ये देशभित्रका जीवन बीमा कम्पनीलाई २७ वटा बीमा दाबीवापत २ करोड १२ लाख ९० हजार रुपैयाँ, निर्जीवन बीमा कम्पनीलाई ७७ वटा बीमा दाबीवापत ७ करोड ९३ लाख ७० हजार रुपैयाँ र विदेशी बीमा कम्पनीलाई १० वटा बीमा दाबीवापत १ करोड ३३ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले मंसिर महिनामा कुल १५६ वटा बीमा दाबीवापत १३ करोड ९८ लाख ८६ हजार रुपैयाँ भुक्तानी भएको जनाएको छ । यस अवधिमा कम्पनीले स्वदेशी बीमा कम्पनीतर्फ जीवन बीमाका ४१ वटा बीमा दाबीवापत १ करोड १४ लाख ६६ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीका ९१ वटा बीमा दाबीवापत ११ करोड ८९ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । भने विदेशी निर्जीवन बीमा कम्पनीका २४ वटा बीमा दाबीवात ९४ लाख ८९ हजार रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै, कम्पनीले कात्तिक महिनाको अवधिमा कुल १७८ वटा बीमा दाबीवापत २२ करोड २२ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कात्तिक महिनामा कम्पनीले स्वदेशी बीमा कम्पनीतर्फ जीवन बीमा कम्पनीलाई ९७ वटा बीमा दाबीवापत ४ करोड ७२ लाख ४३ हजार रुपैयाँ, निर्जीवन बीमा कम्पनीलाई ६१ वटा बीमा दाबीवपात १५ करोड ७३ लाख ३ हजार रुपैयाँ र विदेशी निर्जीवन बीमा कम्पनीलाई २० वटा बीमा दाबीवापत १ करोड ७७ लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बीमा कम्पनीहरुले कुनै पनि जोखिम शतप्रतिशत आफैँले व्यहोर्न सक्दैनन् । बीमा कम्पनीहरुले निश्चित जोखिम आफूले राखी बाँकी रहेको जोखिम अन्य कम्पनीलाई हस्तान्तरण गर्छन्  । बीमा कम्पनीको जोखिम धारण गर्ने कम्पनीलाई पुनर्बीमा कम्पनी भनिन्छ ।

हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि गरी २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल पुनर्बीमा कम्पनीको सरकारी लगानीमा स्थापना भएको पहिलो पुनर्बीमा कम्पनी हो भने हिमालयन रि नीजि लगानीमा स्थापना भएको दोस्रो पुनर्बीमा कम्पनी हो ।


क्लिकमान्डु