अडानी विश्वका सबैभन्दा १० धनीको सूचीबाट बाहिरिए



काठमाडौं । भारतीय अर्बपति अडानी संसारका शीर्ष १० धनी व्यक्तिहरुको सूचीबाट बाहिरिएका छन् ।

आर्थिक क्षेत्रको सञ्चारमाध्यम ब्लूमबर्ग म्यागजिनका अनुसार अडानी ११ औं स्थानमा पुगेका छन् । उक्त सूचीलाई मंगलबार नै अपडेट गरिएको हो । यसअघि ब्लुमबर्गको सूचीमा अडानी विश्वका सबैभन्दा धनीको चौथो स्थानमा थिए ।

अमेरिकी वित्तीय फर्म हिडनबर्ग रिचर्सको रिपोर्ट सार्वजनिक भएपश्चात निरन्तर ओरालो लागेको अडानीको सम्पत्तिमा असर परिरहेको छ । अडानी र अडानीको व्यापारिक समूहसँग सम्बन्धित कम्पनीहरुको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा यसले अडानीलाई संसारकै धनीहरुको सूचीबाट तल झारेको छ ।

रिपोर्टले प्रत्यक्ष रुपमा अडानीको निजी सम्पत्तिमाथि पनि प्रभाव पारिरहेको छ । पछिल्ला केही दिनमा संसारका सबैभन्दा शीर्ष धनी व्यक्तिहरुमध्ये रहेका अडानी निरन्तर यो सूचीमा तल झरिरहेका छन् ।

अडानी हिडनबर्ग रिपोर्ट सार्वजनिक हुनुभन्दा अघि संसारकै तेस्रो धनी व्यक्तिका रुपमा फोर्ब्स म्यागजिनको लिस्टमा थिए । गत शुक्रबार तेस्रो स्थानमा रहेका उनी रिपोर्ट सार्वजनिक भएपश्चात निरन्तर आरोलो झरिरहेका छन् । अहिले फोर्ब्सको सूचीमा उनी सातौं स्थानमा रहेका छन् ।

२४ जनवरीमा हिडनबर्ग रिपोर्ट सार्वजनिक भएपश्चात अडानीले ६५ अर्ब डलर नोक्सान व्यहोरेका छन् । तर अडानी समूहले उक्त रिपोर्ट गलत भएको बताइरहेको छ ।


क्लिकमान्डु