घट्दो सेयर बजारको असरः पुँजीगत लाभकर ८४.६८%ले घट्यो



काठमाडौं । यो वर्ष सेयर लगानीकर्ताबाट राज्यले पाउने पुँजीगत लाभकर ८४.६८ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ अर्ब ६ करोड ८७ लाख ७८ हजार ८१ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । चालु आवको पुस मसान्तसम्म आइपुग्दा पुँजीगत लाभकर ८४.६८ प्रतिशतले खुम्चिएर १ अर्ब २३ करोड ५७ लाख १२ हजार ५२३ रुपैयाँमा सीमित भएको छ ।

गत पुस मसान्तसम्म सेयर लगानीकर्ताले तिरेको ८ अर्ब ६ करोड ८७ लाख ७८ हजार ८१ रुपैयाँमा पुँजीगत लाभकरमा ठूलो हिस्सा अल्पकालीन लगानीकर्ताको रहेको थियो भने दीर्घकालीन लगानीकतोका हिस्सा कम रहेको थियो ।

अल्पकालीन कारोबारीले गत आवको पुस मसान्तसम्म ५ अर्ब ८४ करोड १८ लाख ७९ हजार ७८९ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए ।

उक्त आवमा दीर्घकालीन लगानीकर्ताले भने २ अर्ब २२ करोड ६८ लाख ९८ हजार २९२ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए ।
यस्तै चालु आवको ६ महिनामा उठेको १ अर्ब २३ करोड ५७ लाख १२ हजार ५२३ रुपैयाँ पुँजीगत लाभकरमा ठूलो हिस्सा अल्पकालीन लगानीकर्ताको रहेको छ ।

अल्पकालिन लगानीकर्ताले सेयर कारोबार गरेर ७४ करोड ४१ लाख ५३ हजार ६९८ रुपैयाँ राज्यलाई पुँजीगत लाभकर तिरेका छन् । यस्तै दीर्घकालिन लगानीकर्ताले ४९ करोड १५ लाख ५८ हजार ८२५ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

सेयर बजारमा आएको गिरावटका कारण पुँजीगत लाभकर घटेको देखिएको छ । साउन १ गते २०२९.४३ बिन्दुमा रहेको बजार अहिले २१८२.११ बिन्दुमा रहेको छ । यो अवधिमा घटेर १८१५.१४ बिन्दु सम्म झरेको थियो । बजारमा आएको निरासाको असर राज्यले पाउने करमा समेत गरेको छ ।

लगानीकर्ताले गरेको लगानी भन्दा पनि सेयरको मूल्य कम भएपछि लगानीकर्ताले नाफा नकमाउँदा राज्यले पाउने पुँजीगत लाभकर पनि घटेको छ । अहिले दीर्घकालिन कारोबारीले ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेका छन् ।


क्लिकमान्डु