क्युआर पेमेन्ट, मोबाइल वालेट र मोबाइल बैंकिङबाट हुने कारोबार बढ्यो
काठमाडौं । पछिल्लो समय क्यूआर कोडबाट हुने भुक्तानी बढेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार मंसिर मसान्तमा क्युआर पेमेन्ट, मोबाइल वालेट र मोबाइल बैंकिङबाट हुने कारोबार बढेको छ भने इन्टरनेटबाट हुने भुक्तानी घटेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार मंसिर मसान्तसम्म क्यूआर कोडबाट हु्ने भुक्तानी १९ अर्ब ३४ करोड ६० लाख रुपैयाँ पुगेको छ । कात्तिकमा १६ अर्ब १४ करोड ४० लाख रुपैयाँको भुक्तानी भएको थियो । एक महिनाको अवधिमा ३ अर्ब २० करोड ३० लाख रुपैयाँले बढेको छ ।
यस्तै, मंसिरमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी २२ करोड २९ लाख रुपैयाँले घटेर ११ अर्ब ४७ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । कात्तिकमा ११ अर्ब ७० करोड ५० लाख रुपैयाँ इन्टरनेट बैंकिङबाट भुक्तानी भएको थियो ।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङबाट हुने भुक्तानी कात्तिकको तुलनामा मंसिरमा बढेको छ ।
कात्तिकमा १ खर्ब ५१ अर्ब ९८ करोड ७० लाख रुपैयाँ भुक्तानी भएकामा मंसिरमा बढेर १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ ।
केन्द्रीय बैंकका अनुसार मंसिरमा मोबाइल वालेटबाट हुने कारोबार बढेको छ । असोजमा १७ अर्ब २२ करोड ७० रुपैयाँको कारोबार भएकामा मंसिरमा भने १७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।