अरिहान्त आयात तथा निर्यात कम्पनीको व्यापार १ अर्ब रुपैयाँभन्दा बढी



काठमाडौं । अरिहान्त आयात तथा निर्यात प्रालिको व्यापार १ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीको हरेक वर्ष व्यापार बढ्दै जाँदा सन् २०२२ मा १ अर्ब ४ करोड ९ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ८६ करोड १० लाख रुपैयाँ र सन् २०२० मा २१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०१९ देखि कोइला, कपर, आल्मोनियम, जिपसम, रेजिन तथा निर्माण सामग्री आयात गरी बजारमा बिक्री वितरण गर्दै आएका छन् । कम्पनीले स्यानिटरी वायर, इलेक्ट्रिकल र भवन निर्माणका लागि आवश्यक सामग्री आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

अरिहान्त ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ करोड ५० लाख रुपैयाँ बी माइनस र अल्पकालीन कर्जाका लागि ७९ करोड ५० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ दिएको छ ।

गिरिशकुमार लुनिया अध्यक्ष रहेको अरिहान्त ग्रुपको अरिहान्त इन्फ्रास्टक्चर लिमिटेड, अरिहान्त स्टिल एण्ड एलोय कास्टिङ प्रालि र अरिहान्त रियल स्टेट डेभलपर कम्पनी सञ्चालनमा छन् ।

कम्पनीले सन् २०२२ मा उच्च व्यापार गर्दा १ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।


क्लिकमान्डु