बढी कर उठाउन संस्थानका सञ्चालकलाई अर्थ सचिवको निर्देशन



काठमाडौं । अर्थ सचिव तोयम रायाले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै विभिन्न संस्थानमा सञ्चालक रहेका कर्मचारीलाई अनावश्यक खर्च घटाउने गरी निर्णय गर्न निर्देशन दिएका छन् ।

अर्थ सचिव भएपछि पहिलोपटक रायाले अर्थ मन्त्रालयको तर्फबाट सरकारी संस्थानमा सञ्चालक रहेका विभिन्न कर्मचारीलाई बोलाएर चालू आर्थिक वर्षको अन्त्यमा सकेसम्म बढी कर तिराउन निर्देशन दिएका हुन् ।

‘अहिले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । यस्तो अवस्थामा खर्च बढाउने प्रकृतिका निर्णय गर्न तपाईंहरुले रोक्नु पर्छ,’ रायाले भने,‘ सरकारी संस्थानले पुस मसान्तमा केही बढी आयकरको पहिलो किस्ता बुझाइदियो भने हामीलाई सहज हुन्थ्यो । तपाईंहरुले आफूले प्रतिनिधित्व गर्ने संस्थामा केही बढी कर तिर्ने सम्भावना भए/नभएको एकिन गर्नु होला ।’

अर्थ मन्त्रालयबको तर्फबाट सञ्चालक समितिमा सदस्य रहेको व्यक्तिले अनावश्यक खर्च घटाउने विषयमा अडान लिन रायाले निर्देशन दिए ।

अर्थ मन्त्रालयमा भएको बैंठकमा मन्त्रालयको तर्फबाट विभिन्न निकाय जस्तो, नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल वायु सेवा निगम, सञ्चय कोष, नेपाल वायु सेवा निगम, नेपाल आयल निगम लगायतका निकायमा प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यहरु सहभागी थिए ।

चालू आर्थिक वर्षमा गत वर्ष बराबर पनि राजस्व संकलन हुन नसक्दा सरकारी अधिकारी दबावमा छन् । गत वर्ष पुस २७ गतेसम्म ४ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्षमा भने ३ खर्ब ९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।

गत वर्ष बराबर पनि राजस्व संकलन नभएकाले सरकारले चालू खर्च व्यवस्थापन गर्नसमेत ऋण लिनु परेको छ । पुस २७ गतेसम्म सरकारले ४ खर्ब ४२ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । सरकारले गत कात्तिकमा ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण नलिएको भए चालू खर्चसमेत गर्न सक्ने थिएन ।

सरकारलाई चालू खर्च व्यवस्थापन गर्न समेत कठिन बन्दै गएको अवस्थामा अर्थसचिव रायाले अनावश्क खर्च घटाउने र सकेसम्म बढी कर तिर्न वातावरण बनाउन सहसचिव र उपसचिवलाई निर्देशन दिएका हुन् ।


क्लिकमान्डु