एनआईसी, नबिल र सनराइजमा राष्ट्र बैंकको स्थलगत निरीक्षण शुरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंक, नबिल बैंक र सनराइज बैंकमा स्थलगत निरीक्षण शुरु गरेको छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार पुस २६ गतेबाट तीनवटा बैंकमा स्थलगत निरीक्षण शुरु गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाको काम कारबाहीको विषयमा एकिन जानकारी संकलन गर्न बैंकको कार्यालयमा पुगेर हरेक वर्ष राष्ट्र बैंकले स्थलगत निरीक्षण गर्दै आएको छ ।

स्थलगन अनुगमनका क्रममा सुशासन कायम गर्न बैंकले गरेका काम कारबाही, राष्ट्र बैंकबाट जारी भएका सर्कुलर कार्यान्वयनको अवस्था, विभिन्न कर्जाका फाइल लगायतको विषयमा राष्ट्रबाट खटिएका कर्मचारीले सुक्ष्म रुपमा अध्ययन गर्ने गर्छन् ।

राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन विपरित काम गरेको पाइए विभिन्न कारबाही समेत गर्ने गरिएको छ ।

राष्ट बैंकका कर्मचारीले ३५ कार्यदिन बैंकका विभिन्न शाखा कार्यालय पुगेर स्थलगत अध्ययन गर्ने गरेका छन् ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार पुस पहिलो साताबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक र राष्ट्रिय बाणिज्य बैंकमा समेत स्थलगल अनुगमन शुरु भइसकेको छ ।

‘गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेपछि राष्ट्र बैंकले स्थलगत अनुगमन शुरु गरेको हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने,‘चालू आर्थिक वर्षको असार मसान्तसम्म सबै सबैंको स्थलगत अनुगमन सम्पन्न गर्ने हाम्रो योजना छ ।’


क्लिकमान्डु