हामीले पाएको मत निराशाको होइन आशाको हो: रवि लामिछाने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशाको नभइ आशाको भएको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै लामिछानेले राजनीतिक दलमाथि गरिएको आशाको मत आफूहरुले पाएको बताए । ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’लामिछानेले भने ।

चुनाव अगाडि मुलुक प्रतिपक्ष बिहीन भएको भन्ने विषय उठाउने र मौका पाउन साथ सरकारमा प्रवेश गरेको भन्दै लाग्ने गरेको आरोप वास्तविकता नभएको उनले बताए ।

‘लामो समयदेखि मुलुक प्रतिपक्ष बिहीन भएको कुरा चुनाव अगाडि हामीले उठाउँदै आएको विषय हुन् । प्रतिपक्ष बिहीन पनि भन्ने अनि मौका पाउन साथ सरकारमा प्रवेश गरि पनि हाल्ने भन्ने प्रश्न पनि हामी माझ उब्जिएको छ । तर, वास्तविकता त्यस्तो होइन ।’

उनले यसपटकको चुनावमा नेपाली जनताले दिएको मतको सम्मान गर्दै न्यूनतम साझा कार्यक्रममार्फत सम्बोधन गर्ने किसिमको सरकार बनेको बताएका छन् । उनले हालको सरकारले जनमतको सम्मान गर्ने र कदर गर्ने पनि बताएका छन् ।

उनले भने, ‘यस पटक नेपालीले दिएको मत, त्यसलाई सम्मान गर्दै साझा न्यूनतम कार्यक्रममार्फत सम्बोधन गर्ने गरि जसरी सरकार बनेको छ, त्यो नै जनमतको सच्चा कदर हो । जनमतको सम्मान हो भन्ने हामीलाई लागेको छ । र त्यसैअनुसार सरकार बनेको मैले ठानेको छु ।’


क्लिकमान्डु