अर्थमन्त्री पौडेललाई सेयर बजारले गर्यो स्वागत, सरकारको निर्णयले बजारमा सुधारको संकेत



काठमाडौं । सेयर लगानीकर्ताले निकै रुचाएका व्यक्ति नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई सेयर बजारले स्वागत गरेको छ ।

सेयर बजारप्रति सधै सकारात्मक भाव राख्ने मन्त्रीको रुपमा परिचित पौडेल उपप्रधान तथा अर्थमन्त्री भएलगत्तै बजारमा उछाल देखिएको छ । लामो समयपछि बजारमा सुधारको संकेत देखिएको केही लगानीकर्ताको बुझाइ छ ।

पौडेल यसअघि पनि अर्थमन्त्री भएको समयमा बजारले तत्कालिन समयमा नयाँ रेकर्ड कायम गरेको थियो । उनको दोस्रो कार्यकालमा पनि बजारमा निकै सुुधार देखिएको थियो तेस्रो कार्यकालको पहिलो कारोबारमा पनि बजारले सुधारको संकेत देखाएको लगानीकर्ताको भनाइ छ । मन्त्री पौडेल मात्रै नभएर यो पटक सरकारले लिने नीतिका कारण पनि बजारले नयाँ रेकर्ड कायम गर्ने कतिपय लगानीकर्ताको बुझाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नेतृत्वमा गठित नयाँ सरकारले पहिलो निर्णय नै पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेको छ ।

सरकारको पहिलो निर्णयले पनि सेयर लगानीकर्ता उत्साहित भएको बताइन्छ । मंगलबार बजार मापन गर्ने सूचक ५९.८७ अंकले बढेर परिसूचक १९८३.९५ बिन्दुमा रोकिएको छ । २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक ३५.०७, विकास र्बैंक १००.३९, वित्त कम्पनी ६७.७३, जलविद्युत ९५.३५, जीवन बीमा ३७२.२१, उत्पादन तथा प्रशोधन ७२.३७, माइक्रोफाइनान्स ५५.५६, निर्जीबन बीमा समूहको उपसूचक २८३.४२ अंकले बढेको छ ।

कारोबारमा आधा दर्जन भन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २० करोड ९४ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु