कर नतिरी खाली छाडिएका जग्गामा विराटनगर महानगरले पार्किङ बनाउने



विराटनगर । विराटनगरको आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबावमूलक अभियान शुरु गरेको छ ।

बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाइसमेत सुरु गरिएको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर नागेश कोइरालाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–पूर्वमा रहेको खाली जग्गा सफाइ सुरु गरेको छ । बजार क्षेत्रमा अन्य थुप्रै खाली जग्गा रहेका छन् । जसले वर्षौंदेखि महानगरलाई करसमेत तिरेका छैनन् ।

‘बजार एरियामा रहेका करोडौं रूपैयाँ मूल्यका जग्गा वर्षौंदेखि प्रयोगविहीन रहेका छन् । जसले महानगरलाई कर पनि तिरेका छैनन्,’ कोइरालाले भने, ‘त्यति मात्रै होइन खाली जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा समेत ह्रास आएको छ ।’

पुष्पलालचोकदेखि रोडशेषचोकको मुख्य भागमै थुप्रै खाली जमिन छन् । जहाँ आसपासको घरमा उत्पादन हुने फोहोर डम्पिङ गर्ने गरिएको छ । जसले गर्दा महानगरको सुन्दरतामा ह्रास मात्रै होइन वातावरणमा समेत असर परेको उनी बताउँछन् ।

‘विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने सवालमा मेयर र उपमेयर साबबाट स्पष्ट निर्देशन छ । त्यसैअनुसार हामीले काम गरिरहेका छौं, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने ।’

महानगरकै सफाईका कर्मचारी र डोजर प्रयोग गरेर खाली जग्गा सफाई गर्न सुरु गरिएको छ । महानगरले सफा गर्न थालेपछि जग्गाधनीहरु सम्पर्कमा आउन थालेको उनले बताए ।

‘उहाँहरुको व्यक्तिगत सम्पत्ति हो भन्दैमा बीच बजारमा फोहोर थुपार्न त दिनु भएन नि,’ कोइरालाले भने, ‘सफा राखेर जग्गाधनीहरुले आफैं प्रयोग गर्नुहुन्छ भने हामीलाई केही भन्नु छैन । तर, बेवारिसे बनाएर फोहोर थुपार्ने थलो बनाउने र कर नतिर्ने हो भने महानगरले पार्किङका लागि प्रयोगमा ल्याउँछ ।’

बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङको व्यवस्थापन मिलाएर बजार क्षेत्रलाई व्यवस्थित बनाउने महानगरको योजना छ ।


क्लिकमान्डु