ब्याजदर वृद्धिले उद्योग व्यवसाय कमजोर बन्यो, घटाउन जरुरी छ: गृहमन्त्री खाण



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउनु पर्ने बताएका छन् ।

उद्योग व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भइयरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले त्यसलाई तत्काल हटाउन बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरे ।

रुपन्देही उद्योग संघले बिहीबारबाट बुटवलमा सुरु गरेको ‘१५ औं राष्ट्रिय औंद्योगिक प्रर्दशनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव’को उद्घाटन समारोहमा उनले उद्योग व्यवसायको प्रवर्दन नभए बैंक तथा वित्तीय संस्थाहरुलाई नै घाटा हुने उल्लेख गर्दै त्यस विषयमा संवेदनशील भएर काम गर्न आग्रह गरे ।

‘अहिले बैंक तथा वित्तीय संस्थाहरुले जुन ब्याजदर वृद्धि गरिरहनु भएको छ । त्यसले उद्योग र व्यवसायलाई झनै कमजोर बनाइरहेको छ । त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थामाथि नै पर्छ । त्यसैले बढीरहेको ब्याजदर घटाउन जरुरी छ’ मन्त्री शर्माले भने ।

गृहमन्त्री खाणले उद्योग व्यवसायको प्रवद्र्धन गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताए ।

‘सम्पूर्ण उद्योगी र व्यापारीहरुलाई म आग्रह गर्न चाहन्छु–तपाईंहरुको साथमा राज्य छ, सरकार छ । सरकारका सबै अंगहरु छन् । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तपाईंहरुको साथमा छ । सबै जनप्रतिनिधिहरु तपाईहरुको साथमा छौं । निर्वाचनको बेलामा पक्ष, विपक्ष होला । अव निर्वाचन सम्पन्न भईसकेपछि हामी सबै एकै पक्षमा भएका छौं । र, उद्योगी व्यवसायीहरुको सम्वद्र्धननै हामी सबै जनप्रतिनिधिहरुको साझा दायित्व हो’ उनले भने ।

आगामी दिनमा मुलुकको आर्थिक समस्यालाई सम्बोधन गर्दै अघि बढ्नु पर्ने उनले बताए ।

‘उद्योगी र व्यवसायीहरुले बैंकलाई तिर्नुपर्ने ब्याँज र साँवा तिर्न नसक्ने अवस्था आयो भने त्यसको गम्भीर प्रभाव बैंक तथा वित्तीय संस्थाहरुलाई पनि पर्दछ । त्यसकारण बैंक र वित्तीय संस्थाका संचालकहरुले पनि त्यसलाई गम्भीरतापूर्वक लिएर उद्योगी र व्यवसायीहरुको समस्या हाम्रो समस्या हो, मुलुकको समस्या हो । यो समस्यालाई सम्बोधन गर्ने क्रममा हामी सबैले हातेमालो गरेर अगाडि बढनु पर्दछ भन्ने मनसायका साथ अगाडि बढनु पर्दछ भन्ने आग्रह गर्दछु’ उनले भने ।


क्लिकमान्डु