बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच आज सडक र हवाइ पूर्वाधार विकासमार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो ।

नेपाल बंगलादेशबीचको कुटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्वन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो ।

अध्यक्ष राजेन्द्र मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसंगै लगानीका लागि हामी आव्हान गर्दछौ ।’

बंगलादेशमा सडक सञ्जलसँगै हवाइ सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
बंगलादेशसँग नेपालको व्यापारघाटा उच्च रहेको सन्दर्भमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरुको खोजी गर्नुपर्नेमा जोड दिए ।

नेपालले ऊर्जा व्यापारमार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गरे ।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन ।

चेम्बर अध्यक्ष मल्लले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसंग आग्रह गर्नुभयो । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफूहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

हवाइसँगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताए ।


क्लिकमान्डु