हिमालयन र सिभिल बैंकको अन्तिम स्वाप रेसियो १००: ८०.२९% , माघ १८ देखि एकीकृत कारोबार



काठमाडौं । हिमालयन र सिभिल बैंकको मर्जर सम्बन्धी प्रक्रिया सकिएको छ । दुबै बैंकको सञ्चालक समितिले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट टुंगो लगाएर एकैदिन साधारणसभा बोलाएका छन् ।

अन्तिम स्वाप रेसियो १००ः८०.२९ प्रतिशतमा टुंगो लागेको छ । यसको अर्थ सिभिल बैंकमा १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने हिमालयन बैंकमा ८०.२९ कित्ता हुनेछ ।

शुरुवाती सम्झौताभन्दा अन्तिम स्वाप रेसियो केही घटेको छ । दुई बैंकबीच गत असार २९ गते १००ः ८१ प्रतिशतमा मा मर्ज हुने सम्झौता भएको थियो । स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टले गरेको डीडीएमा सिभिलको १०० कित्ता हिमालयनसँग गाभिँदा ७३ कित्ता मात्रै हुने देखिएको थियो । डीडीए रिपोर्टमा आएभन्दा १० प्रतिशत तलमाथि गरेर नयाँ स्वाप रेसियो निर्धारण गर्ने दुई बैंकबीच समझदारी थियो ।

‘दुबै बैंकको बोनस र स्वपुँजीलाई समेत समायोजन गरेर १००ः८०.२९ प्रतिशत नयाँ स्वाप रेसियो तय भएको छ,’ सिभिल बैंक स्रोतले भन्यो, ‘निणर्य गराउन सहज होस् भनेर यही पुस २८ गते दुबै बैंकले साधारणसभा बोलाएका छौं । साधारणसभाले पारित गरेपछि छिट्टै एकीकृत कारोबार हुन्छ ।’

हिमालयन र सिभिल दुबै बैंकका उच्च अधिकारीहरुका अनुसार साधारणसभाबाट पारित भएपछि आगामी माघ १८ गते एकीकृत कारोबार गर्ने कार्यतालिका छन् ।

‘माघ १८ गते एकीकृत कारोबार हुन्छ,’ स्रोतले भन्यो ।

पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेपनि प्रक्रियागत जटिलताका कारण समयमै काम गर्न नसकेको भन्दै दुबै बैंकले संयुक्तरुपमा ३ महिना समय थप गर्न मााग गर्दै राष्ट्र बैंकमा पत्राचार गरिसकेका छन् । र, राष्ट्र बैंकले पनि स्वीकृति जनाइसकेको छ ।

मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र अन्तरिम सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । सीइओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको छ ।


क्लिकमान्डु