सानिमा लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले कति पाउँछन् ?



काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८(१६ जुलाई २०२० देखि १५ जुलाई २०२१)सम्मको बीमाङ्कीय मूल्याङ्कनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि नयाँ बोनस दर घोषणा गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर)बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

सावधिक जीवन बीमा योजना(एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्तै, त्रिपल सावधिक बीमा योजना कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमितले प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रति हजार न्यूनतम ३२ रुपैयाँदेखि ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा प्रािधकरणबाट अर्को व्यवस्था नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत यहि अनुसारको बोनस दर कायम गरिने समेत कम्पनीले बताएको छ ।

जीवन बीमा कम्पनीले बीमितहरुलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ  । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।


क्लिकमान्डु