सूर्या र ज्योति लाइफले ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स’को नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार थाल्ने



काठमाडौं । मर्जर प्रक्रियामा रहेका सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारको मिति तय गरेका छन् ।

यी कम्पनीले ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट पुस ७ गते बिहीबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका हुन् ।

दुवै कम्पनीले एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा २०७९ असार १२ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै कम्पनीको कात्तिक २८ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर २७ गते मर्जर तथा एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो ।

संयुक्त मर्जर समितिले मंसिर २९ गतेको निर्णयअनुसार बीमा प्राधिकरणले मंसिर २९ गते एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको थियो ।

सोहि अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो।

पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु हुने हुँदा डाटा माइग्रेसन तथा सिस्टम इन्टिग्रेसन गर्नुपर्ने भएकाले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने कम्पनीहरुले जानकारी गिराएका छन् ।

नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् । सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाइफका सेयरधनीले १ सेयर बराबर १ शेयर पाउनेछन् ।

भने ज्योति लाईफका सेयरधनीले १ शेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपातअनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी ४ अर्ब ५५ करोड पुग्नेछ ।


क्लिकमान्डु