सवा करोड लागतमा विराटनगरमा ओएसीसी लाउञ्ज एण्ड बार खुल्दै
विराटनगर । सवा करोड रूपैयाँको लागतमा विराटनगरमा ओएसीसी लाउञ्ज एण्ड बार बुधबारदेखि खुल्ने भएको छ ।
पर्यटन व्यवसायी जितेन्द्र श्रेष्ठले विराटनगर–५ स्थित भृकुटी चोकमा लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याउन लागेका हुन् । श्रेष्ठ तीन दशकदेखि पर्यटन व्यवसायीका रुपमा सक्रिय छन् ।
छुट्टै स्वाद र सन्तुष्टि पस्किने उद्देश्यका साथ लाउञ्ज एण्ड बार सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक श्रेष्ठले बताए । उनले यसअघि चितवनमा पनि होटल व्यवसाय गरेको अनुभव संगालेका छन् । त्यस्तै सञ्चालक श्रेष्ठको लुम्बिनीमा पनि लुम्बिनी बुद्ध गार्डेन सञ्चालनमा छ ।
दुई कठ्ठा क्षेत्रफलमा फेलिएको लाउञ्ज एण्ड बार बारमा कन्ट्रीनेटल खाना, ग्रिल, चिकेनलगायत विशेष परिकारहरु उपलब्ध हुने छन् । ‘विराटनगरमा छुट्टै र स्तरीय परिकार खुवाउनु र हरेक ग्राहकहरूलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो, यसमा सफल पनि हुनेछौँ’, सञ्चालक श्रेष्ठले भने ।
उद्घाटनको दिन बिक्री भएको आम्दानी रकमको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने सञ्चालक श्रेष्ठले बताए । सो रकम विराटनगर–१० स्थित विराटेश्वर वृद्धाश्रमलाई उपलब्ध गराउने उनको भनाइ छ । लाउञ्ज एण्ड बारमा सवा करोड खर्च गरिएको जनाइएको छ ।
विराटनगरमा एक सय बढी रेष्टुरेन्ट तथा बार सञ्चालनमा रहेको होटल व्यवसायी आशिष श्रेष्ठले जानकारी दिए । तर पनि रेष्टुरेण्ट तथा बार खुल्ने क्रम जारी नै छ ।
ग्राहको नयाँ नयाँ ठाउँको फरक फरक स्वाद लिने प्रवृत्तिका कारण जति नै रेष्टुरेण्ट तथा बार खुले पनि चल्ने स्थिति रहेको होटल एसोसिएसन प्रदेश १ का अध्यक्ष राज श्रेष्ठले बताए ।
उनका अनुसार कोरोना र लकडाउनले थलिएको पर्यटन व्यवसाय अलिअलि माथि उठ्न लागेको अवस्थामा बैंक व्याजदर र लागत अनुपातमा आम्दानी हुन सकेको छैन । होटल व्यवसाय फस्टाउन अझै २ वर्ष कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।