बाघ देखेर भागेका बालक तीन दिनपछि भेटिए



भीमदत्तनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि आज नेपाली सेनाको टोलीले सकुशल फेला पारेको छ ।

गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जङ्गली च्याउ खोज्न हिँडेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ वर्षीय सुनिल चौधरीलाई आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गणको टोलीले निकुञ्जभित्र फेला पारेको छ ।

सामान्य चोटपटक लागेको अवस्थामा भेटिएका चौधरीलाई सेनाले परिवारको जिम्मा लगाएको भवानीबक्स गणले जनाएको छ ।

तीन जना बालकले शुक्लाफाँटामा च्याउ खोज्दै जाँदा जङ्गलमा बाघ देखेपछि भागेका थिए । अन्य दुई जना बालक सोमबार घर फिर्ता भएका थिए । परिवारको आग्रहपछि सेनाले हराएकै दिनदेखि चौधरीको खोजीकार्य थालेको थियो । रासस


पुष्प दुलाल