जबराविरुद्धको महाभियोग संसद्‍मा जीवितै छ, आगामी प्रतिनिधिसभामा छलफल हुन्छ : सरकारका प्रवक्ता



काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।

उनले आगामी प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोगको प्रस्तावमा छलफल हुने बताए ।

बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने मन्त्री कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएको भन्दै आगामी प्रतिनिधिसभामा छलफल हुने बताएका हुन् ।

संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएको र जबरा सर्वोच्च जाने तयारीमा रहेको बेला कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले महाभियोग प्रस्तावमाथि छलफल भएर निर्णयमा पुग्ने बताएका हुन् ।

‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो, त्यो विषय जीवितै छ,’ उनले भने, ‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ, र छलफल भएरै निर्णयमा पुग्छ ।’


क्लिकमान्डु