मार्बल टायल आयात गर्दा नगद मार्जिन राख्नु नपर्ने, राष्ट्र बैंकले संशोधन गर्‍यो सर्कुलर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्बल टायल आयात गर्दा नगद मार्जिन राख्नु नपर्ने व्यवस्था गरेको छ ।

गत पुष ५ गते राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका बस्तु आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

मार्बल टायल लगायतका बस्तु विलाशी भएको बताउँदै यस्ता बस्तुको आयात घटाउन राष्ट्र बैंकले एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

हाल मार्बल टायल आयात गर्नुभन्दा अघि जति रकमको आयात गर्नुपर्ने हो उक्त रकम बैंकमा जम्मा गरेपछि मात्रै एलसी खुल्ने गरेको थियो । नगद मार्जिन राख्नु नपर्ने व्यवस्थाले मार्बल टायल आयातका बैंक वित्तीय संस्थाले सजिलै एलसी खोल्ने छन् ।

हार्मेनिक कोड ६८ अन्तर्गत पत्थर (स्टोन), प्लाष्टर, सिमेण्ट, अश्मतन्तु (एस्बेस्टोस) अबरख (माइका) लगायतका बस्तु आयात हुन्छन् । यस्तै, चिनियाँ माटोका (सेरामिक) उत्पादनहरु, कांच (ग्लास) र कांचका वस्तुहरु पर्छन् । अब यस्ता बस्तु आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नु नपर्ने भएको छ ।

यस्तै सार्वजनिक खरिद कानून लागु हुने निकायहरुले सार्वजनिक निकायहरुले सार्वजनिक खरिद कानूनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपुर्ति गर्ने समान आयात गर्दा समेत नगद मार्जिन राख्नु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

तर, नगद मार्जिन नराखी सटही सुविधा लिन बोलपत्रको कागजत, करार सम्झौता र आयात हुने वस्तु खुल्ने गरी सार्वजनिक निकायको सिफारित समेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले एचएस कोड ९४०१ अन्तर्गत आयत हुने हवाइजहाज, मोटरसाइकल लगायतमा विछ्यौनाको रुपमा परिवर्तन गर्न सकिने वा नसकिने सिट (आसन) र तिनका पार्टपूर्जाहरु आयात गर्दा नगद मार्जिन राख्नु नपर्ने व्यवस्था गरेको छ ।

यस्तै, एचएसकोड ३९०३ आयात हुँदा प्लास्टिकका सामान प्राथमिक रुपका, इथाईलिन पोलिमरहरु (बहुभाग संयोजन), ०.९४ भन्दा कम विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, ०.९४ वा सो भन्दा बढी विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, ०.९४ भन्दा कम विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, विशिष्ट गुरुत्व (स्पेसिफिक ग्राभिटी) ०.९४ भन्दा कम भएको इथाइलिन–अल्फा–ओलेफिन कोपोलिमरहरू लगायतका बस्तु आयात गर्दा समेत नगद मार्जिन राख्नु नपर्ने व्यवस्था गरिएको छ ।

हाल यी बस्तु आयात गर्न एलसी खोल्दा १०० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था छ ।


क्लिकमान्डु